कोलम्बो, ६ पुस । श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गरेका हुन ।
सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए ।
‘संचार माध्यम र प्रहरीलाई साथमा राखेर नियुक्त गर्न चाहेकाले उहाँले मन्त्रीहरू नियुक्त गर्न ढिला भएको हो’, सरकारका प्रवक्ता रजिथा सेनारत्नेले भने ।
नयाँ मन्त्रिपरिषद्को कानून मन्त्रीमा भने कसैलाई नियुक्त नगरिएको उनले जानकारी दिए ।
विक्रमासिङ्घेको पहिलेको सरकारका अर्थ र परराष्ट्रमन्त्रीलाई भने अहिले परिवर्तन नगरिने भएको छ । अर्थमन्त्रीमा मङ्गला सामाराविरा र विदेशमन्त्रीमा तिलक मारापानालाई जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ तारिखका दिन तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर पुर्व राष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरे ।
तर संसद र सर्वोच्च अदालतले उनको यो कदम गलत र अवैधानिक भएको भन्दै मान्यता नदिएपछि उनले पुरानै अवस्थामा फर्किएका हुन ।
आफैले हटाएको प्रधानमन्त्रीलाई फेरि नियुक्त गर्नुपरेपछि राष्ट्रपति सिरिसेनालाई काम गर्न गाह्रो हुने ठानिएको छ ।
प्रधानमन्त्री विक्रमासिङ्घेले नयाँ वर्ष सन् २०१९का लागि वर्षिक बजेट बनाउने विषय आफ्नो अहिलेको प्रमुख प्राथमिकता रहेको बताए ।















प्रतिक्रिया