
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको महासमितिको बैठक केही दिन लम्बिन सक्ने देखिएको छ । मंगलबार टुंगो लगाउँदै खास निर्णय सार्वजनिक गर्नुपर्ने यो बैठकमा विधानबारेको मतभेद एउटा कारण छँदै थियो, महत–केसी माइक खोसाखोस ‘भौतिक’ कारण बनिदियो ।
बैठकमा जुनियर महत–केसीको माइक काण्डले चर्चा पाएको छ । जगदिशनरसिंह केसी र डा. प्रकाशशरण महतको यो काण्डले महासमिति प्रभावित हुने देखिएको छ । केन्द्रीय समितिले नै कुनै ठोस निर्णय गर्न नसकेपछि महासमितिमा प्रस्ताव कसरी पुग्ने ?
के भयो ?
महासमिति बैठकको सुरुमै नुवाकोट सभापति जगदिशनरसिंह केसीलगायत पार्टी सभापतिहरूले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर बैठक सुरु गर्नुअघि विधान संशोधन प्रस्ताव पेश गर्नु पर्ने र मस्यौदाको प्रति सबै महासमिति सदस्यहरूलाई बाड्न माग राखेका थिए ।
देउवाले विधानको मस्यौदा आउने तर बैठक जारी राख्न माग गरेका थिए । सदस्यहरूले मस्यौदा हातमा नलिई बैठक गर्न नहुने हल्ला गरिरहेका थिए । नुवाकोट सभापति केसीले माइक लिए । विधानको मस्यौदा सबैलाई बाड्नुपर्ने भन्दै बोल्ने खोजेका थिए । तर, सहमहामन्त्री डा. प्रकाशशरण महतले उनलाई धकेल्दै माइक खोसेर फ्याँकेपछि विवादले उग्र रूप लियो । जगदिश नरसिंहका अनुसार, मस्यौदा माग गर्दा प्रकाशशरणले माइक खोसेर फ्याँकिदिएका थिए ।
त्यसपछि विवाद झन चर्को भयो । जगदिशनरसिंह केसीका समर्थकले प्रकाशशरणको व्यहोराका विषयमा कुरा उठाएपछि महासमिति बैठक प्रभावित भयो ।
दाजुद्वयको घाँटी जोडिएका बेला
भाईहरू माइक काण्डमा ताते पनि दाजुद्वयको केही दिन अघिमात्र घाँटी जोडिएको थियो ।
नुवाकोटको कांग्रेस विरासतमा महत र केसी परिवार कहिले पनि एक हुन सकेका थिएनन् । तर, दुई गुटको ध्रुवीकरणका सवालमा सुजाता कोइराला निवास मण्डिखाटारमा अचम्मको दृश्य देखियो ।
डा. रामशरण महत र अर्जुननरसिंह केसी अंकमाल गरेर उभिइरहेका थिए । यो, देउवाविरुद्धको मोर्चाबन्दीको झलक थियो । कोइराला परिवारको प्रस्तावमा रामशरण र अर्जुननरसिंहको समर्थन र सहयोगको वाचामात्र भएको थिएन, आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विचारमा पनि एकरुपता देखिएको थियो । त्यसैले मण्डिखाटार लञ्च बैठकहरूको एउटा सन्देश थियो– नुवाकोटे महत–केसी कांग्रेस विवाद अन्त्य हुनसक्छ ।
तर, महासमितिको यो काण्डले नुवाकोटभित्र दुई परिवारबीचको विवादलाई सतहमा देखाइदिएको छ । प्रकाशशरण रामशरणका भाई हुन् भने जगदिशनरसिंह अर्जुननरसिंहका भाई हुन् ।















प्रतिक्रिया