१० कार्तिक २०८३, मंगलबार

समायोजनबारे कर्मचारी अन्योलमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । काठमाडौं । कर्मचारी समायोजन ऐनले गरेका विभिन्न व्यवस्थामा असहमति जनाउँदै सबै सेवाका कर्मचारी सरकारविरुद्ध खनिएका छन् ।

ऐनमा रहेका छुट्टाछट्टै व्यवस्थाप्रति निजामती कर्मचारी र साबिकका स्थानीय निकायका कर्मचारीले असहमति जनाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

साबिकका स्थानीय निकायका कर्मचारीहरूले समायोजन हुँदा निजामती कर्मचारीसरह सुविधा पाउनुपर्ने माग राखेका छन् ।

उनीहरूले तह वृद्धि र ग्रेड वृद्धिको माग गर्दै सोमबार कामकाज नै ठप्प गरे । यस्तै, उनीहरूले थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन् ।

एउटै ऐनअन्तर्गत समायोजन हुँदा निजामती कर्मचारीलाई सुविधा दिने र आफूहरूलाई विनासुविधा समायोजन गर्न लागेकोमा उनीहरूको आपत्ति छ । मन्त्रालयले भने तोकिएको समयभित्र स्थानीय निकायका कर्मचारी समायोजन भइसक्ने जनाएको छ ।

निजामती सेवाका कर्मचारीले स्थानीय तह वा प्रदेशमा समायोजन भएपछि निश्चित समयमा संघमा फर्कन सक्ने व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

ऐनले समायोजन भएपछि त्यही सेवाभित्र मात्र सरुवा र बढुवा हुने व्यवस्था गरेको छ । तर, कर्मचारीहरूले निश्चित मापदण्ड पूरा गरेपछि संघमा आउन सक्ने विकल्प खुला गर्नुपर्नेमा जोड दिएका छन् ।