
काठमाडौं, २ पुष । काठमाडौं किङस इलाभेन एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार भएको लिग चरणको अन्तिम खेलमा विराटनगर वारिवर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं क्वालिफायरमा पुगेको हो । साविकको विजेतासमेत रहेको विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
टियु क्रिकेटमा मैदानमा विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । काठमाडौंका केभिन ओ ब्राएन ४५ र प्रदीप साहु २१ रनमा अविजित रहे । धरमराएको काठमाडौंको ब्याटिङलाई ब्राएनले सम्हालेको हुन् ।
विराटनगरका लागि पारस खड्का र भान डेर मेर्वीले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्काको विराटनगरले १७ ओभर ५ बलमा अलआउट हुँदै १०० रन बनाएको थियो । विराटनगरकासुमित महर्जनले २५, हरि बहादुर चौहानले २२ रन बनाए ।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिए ।
सोमबारको जितसँगै काठमाडौं लिगको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ । काठमाडौंले अब फाइनल प्रवेशका लागि क्वालिफायरमा मंगलबार ललितपुर प्याट्रियट्ससँग खेल्नेछ ।
विराटनगरको हारको फाईदा चितवन टाइगर्सले उठाएको छ । काठमाडौंसँग हारेर विराटनगर बाहिरिएपछि चितवन प्ले अफमा पुगेको छ । चितवनले अब इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्ससँग खेल्नेछ ।















प्रतिक्रिया