१० कार्तिक २०८३, मंगलबार

गायब भएको ‘गोरे’को ३३ किलो सुन भेटियो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेपालबाट गायब भएको साढे ३३ केजी सुन र सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम र भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ परेका दुई नेपाली नागरिकको नाम एउटै भएको पाइएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गृह मन्त्रालयका अनुसार भारतको कोलकातास्थित डाइरेक्टोरियट अफ रेभिन्यु इन्टेलिजेन्स (डिआरआई)ले २१ मंसिरमा ३३ केजी सुनसहित नेपाली नागरिक राकेशप्रसाद र हेमप्रसाद शर्मालाई पक्राउ गरेको थियो ।

उनीहरू दिल्ली कोलकाता हाइवेमा पर्ने दन्कुनी टोल प्लाजाबाट मारुती स्विफ्ट भिएक्सआई कारसहित पक्राउ परेका थिए । गृहले कोलकातामा बरामद सुन नेपालबाट गायब ३३ केजी सुन नै रहेको दाबी गरेको छ ।

सरकारले गत २० चैत ०७४ मा गठन गरेको उच्चस्तरीय विशेष अनुसन्धान समितिका तत्कालीन संयोजक ईश्वरराज पौडेलले ३३ केजी सुनसँगै कोलकातामा पक्राउ परेका दुई नेपालीको नामसँग सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम मिलेको बताए ।

गृह मन्त्रालयका अनुसार कोलकातामा बरामद सुन दुबईबाट भित्रिएको र सुनसँगै पक्राउ अभियुक्त इटहरीका स्थानीय रहेको खुलेको छ । सनम शाक्य हत्यामा संलग्न भनिएका अधिकांश अभियुक्त धरान र इटहरी क्षेत्रकै छन् । उनीहरूले दुबईबाट नेपाल भित्रिएकै सुन तस्करी गर्थे ।

समितिका संयोजक पौडेलले पनि यो तथ्यलाई स्वीकार गरे । ‘साढे ३३ केजी सुनसँग जोडिएका अधिकांश अभियुक्त धरान, सुनसरी, इटहरी क्षेत्रका छन् । उनीहरूले दुबईबाट ल्याइएका सुन नै तस्करी गर्थे । कोलकातामा बरामद सुनको होलोग्राम हेर्दा दुबई नै देखिन्छ,’ उनले भने ।

गृहका अनुसार पक्राउ राकेश र होमप्रसाद ‘मने’ भनिने मोहन काफ्लेको मान्छे रहेको खुलेको छ । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या संलग्न काफ्ले अहिले मोरङ कारागारमा छन् । उनलाई पौडेल संयोजकत्वको समितिले नै पक्राउ गरेको थियो ।

‘हामीले सनम शाक्यलाई यातना दिँदै हत्या गरिएको भिडियो हे-यौँ । त्यहाँ गोरे भनिने चुडामणि उप्रेतीले ३३ केजी सुन गायब हुँदा सबैभन्दा धेरै शंका गरेको व्यक्ति काफ्ले नै देखिन्छ । गोरेले काफ्लेलाई ‘मने’ भनी पटक–पटक सम्बोधन गरेका छन्,’ पौडेलले भने, ‘काफ्ले अहिले जेलमा छन् । राकेश र होमप्रसाद काफ्लेकै मान्छे रहेको सूचना प्राप्त भएको छ ।’