काठमाडौं, २८ मंसिर । महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार सुरु हुँदै छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
बैठकमा पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठहर्याउँदै आलोचना गरेका थिए ।
उनले सरकार, संसद् र पार्टी नेतृत्व कमजोर बन्दा र कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको उल्लेख गर्दै समग्र पक्षको ‘पोस्टमार्टम’ गर्नुपर्ने बताएका थिए । लगत्तै सभापति देउवा पौडेलप्रति खनिए ।
पौडेलसँग मात्रै नभएर आफैंले केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेकाहरूले समेत आफूविरुद्ध आलोचना गरेको भन्दै देउवाले आक्रोश पोखे । पौडेलबाहेक अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र गगन थापाप्रति उनी खनिएका थिए ।
सिटौला, केसी र थापा गत १३ औं महाधिवेशनमा सभापति र महामन्त्रीका प्रत्याशी थिए । पराजित सबै पदाधिकारीलाई देउवाले पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
चुनाव गराएको जस लिने तर पार्टीको शर्मनाक हार हुँदा पनि नैतिक जिम्मेवारी नलिने भन्दै पौडेलले देउवाको चर्को आलोचना गरेका थिए । उनले सभापतिलाई आफ्ना कमजोरी स्वीकार्न आग्रह गरे ।
‘कमजोरी स्वीकार्नु भो भने हामी राजीनामा दिनुहोस् भन्दैनौं,’ पौडेल कड्किए, ‘पार्टी शर्मनाक रूपमा हार्दा पनि तथ्यांक देखाएर हारेको छैन भन्ने ? यस्तो तर्क कसैले पत्याउँछ ?’ आरोप लगाएकाले सभापति देउवा निकै आक्रोशमा आए ।















प्रतिक्रिया