१० कार्तिक २०८३, मंगलबार

पूर्वलडाकु मेटासिट र सुसाइड नोट बोकेर मन्त्री निवास

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २८ मंसिर । सशस्त्र द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए ।

कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । प्रहरीले उनका साथबाट ‘सुसाइड नोट’ समेत फेला पारेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सरकारले घाइतेको उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकाले विरोधस्वरूप विष सेवन गर्न लागेको उनले बताए ।

गत मंसिर ५ गते उनले गृह मन्त्रालयमा गृहमन्त्रीकै सामुन्ने विष सेवन गरेका थिए । तत्काल अस्पताल पुर्‍याइयो । चार दिन उपचारपछि महाराजगन्जस्थित प्रहरी अस्पतालबाट डिस्चार्ज गरियो । त्यसपछि उनी रत्नपार्कको शान्तिवाटिकामा अनशन बसे । प्रहरीले उनलाई पक्रेर एक रात राखेको थियो । उनी भोलिपल्टै सशस्त्र द्वन्द्वका अन्य घाइतेसहित गृह मन्त्रालय पुगे ।

गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीको उपस्थितिमा लिखित सम्झौता गरे । ‘सरकारले जनयुद्धका मजस्ता घाइतेको पीडा सुन्दैन भने बाँचेर के अर्थ ? सरकारले झूटो आश्वासन दियो, त्यही भएर मर्न खोजेको हुँ,’ उनले भने ।

गृहमन्त्रीका सल्लाहकार सुवेदीले घाइतेको उपचार र जीविकोपार्जनका विषयमा लिखित सम्झौता गरिएको स्विकारे । ‘उक्त सम्झौता कार्यान्वयनका लागि मन्त्रिपरिषद् प्रस्ताव लैजाने तयारी छ,’ उनले भने । बिहीबारको घटनाबारे भने उनले अनभिज्ञता दर्शाए ।

प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएलगत्तै गृहमन्त्री थापाकहाँ सूचना पुगेको थियो । स्रोतका अनुसार उनले भट्टराईलाई निगरानी गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए । दिनभर प्रहरी परिसरमा राखिएका सुवेदीलाई दिउँसो गृह मन्त्रालय लगिएको थियो । गृहमन्त्रीको कार्यकक्ष नजिकैको एक कोठामा दुई घण्टा राखेर फर्काइयो ।