काठमाडौं, २८ मंसिर । कांग्रेस महासमिति भेला शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन हुने वर्षलाई छाडेर प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि काठमाडौंमा महासमिति भेला हुन लागेको हो । यसको सबै तयारी सकिएको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
बग्गीखानास्थित यलम्बर पार्टी प्यालेसमा शनिबार महासमिति भेलाको औपचारिक उद्घाटन हुँदै छ। यसका लागि सहभागीले शुक्रबार पार्टी मुख्यालय सानेपामा २ देखि ५ बजे सम्म रजिस्ट्रेसन गराउनुपर्नेछ। सवा दुई घण्टाको उद्घाटनसत्रपछि शनिबार दिउँसो बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। भेलामा विभिन्न पाँच प्रतिवेदन पेस हुनेछ।
उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री शशांक कोइरालाले संगठनसम्बन्धी, अर्का महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँ विधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले कोष तथा लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्। सबै प्रतिवेदन शनिबारकै सत्रमा पेस हुने शर्माले जानकारी दिए।
प्रतिवेदन भेलामा सहभागी सदस्यको प्रदेशस्तरीय समूह बनाएर छलफल गराइने छ। प्रदेशस्तरीय समूहमा सहभागीको समिति बनेपछि पुस १ देखि प्रतिवेदनमाथि छलफल हुनेछ। मंसिर ९ देखि जारी कांग्रेस केन्द्रीय समिति बैठकले भेलामा पेस गरिने पाँच प्रतिवेदन पारित गर्दै लैजानुपर्ने हो। विधान मस्यौदा पेस भएपछि मंसिर १३ देखि छलफल थालेको केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो २ बजे बस्दै छ। शनिबारसम्म विधान मस्यौदामाथि छलफल गरेको केन्द्रीय समिति बैठकले सोमबारयता आर्थिक, राजनीतिक, संगठन र कोष लेखा प्रतिवेदनबारे छलफल गरिरहेको छ।
बैठकले सहमहामन्त्री डा। प्रकाशशरण महतको आर्थिक नीति मात्र पारित गरेको छ। बिहीबार मात्रै कोषाध्यक्ष यादवले पार्टीको कोष तथा लेखासम्बन्धी प्रतिवेदन पेस गरेकी छन्। यसअघि बैठकमा उपसभापति निधि, महामन्त्रीद्वय कोइराला र खड्काले समेत आआफ्ना प्रतिवेदन पेस गरिसकेका छन्। भेला सुरु हुनै लाग्दासमेत केन्द्रीय समितिले प्रतिवेदन पारित गर्न सकेको छैन।















प्रतिक्रिया