१० कार्तिक २०८३, मंगलबार

पीडितकी आमा भन्छिन्– न्याय पाइन्छ भन्ने विश्वास अझै लागेको छैन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । छोरीलाई बलात्कार गर्ने र मार्नसमेत खोज्नेहरू पक्राउ परे भन्ने त सुनेँ । तर, न्याय पाइन्छ भन्ने विश्वास अझै लागेको छैन । जहिले उनीहरू अदालतबाट छुटे, त्यही दिनदेखि न्याय पाउने आस मरिसकेको छ । उनीहरू फेरि पक्राउ परेकामा केही राहत त महसुस भएको छ, तर कतै फेरि प्रमाण पुगेन भनेर छाड्न मिलेमतोमै प्रहरीले पक्राउ गरेको त होइन भन्ने शंका पनि लागेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यो एक वर्षको पीडा सुनाइसाध्य छैन । एक महिना त छोरी अस्पतालमै बसी । घर र माइती सबै मिलेर बल्लतल्ल उपचार खर्च जुटायौँ । तर, अझै छोरीलाई ठीक भएको छैन । दाहिने हात राम्रोसँग चल्दैन । दाहिने आँखा र कानमा पनि समस्या छ । हातकै अझै अप्रेसन गर्नुपर्ने हुन सक्छ भनेर डाक्टरले भनेका छन् ।

होस आउनेबित्तिकै उसले आफूलाई बलात्कारपछि हत्या गर्न खोज्नेहरूको हुलियासहित नाम बताएकी थिई । एउटाको रातो कपाल भएको, एउटाको नाकछेउमा सेतो कोठी भएको र अर्कोको ठूला आँखा भएको भनेर । आफूलाई रोडबाट धकेलर तल झार्ने व्यक्तिलाई समेत चिनेको भनेर उसले भनेकी छ । तर, प्रहरीले धेरै प्रमाण संकलन नै गरेन । डिएनए पनि मिलेन भनेको सुन्दा अचम्म लागेको छ । छोरी आफ्नो दिमागमा सधैँ तिनै अपराधीको तस्बिर आइरहने बताउँछे । छोरी कहिलेकाहीँ म बाँचेको ब्यर्थ छ भनेर रुन्छे । आफूले चिनेकै अपराधीलाई कारबाही नभएकोमा उसलाई ठूलो पीडा छ ।

निर्मलालाई न्यायका लागि यसरी सबै लागेको टिभीमा हेर्छु । मेरो पनि समर्थन र सहानुभूति छ । तर, हाम्रो लागि सहयोग पाउन सकिएन । अपराधीलाई सजाय दिलाउन निकै गाह्रो भएको छ । अब त्यो दिन खुसी लाग्नेछ, जुन दिन अदालतले उनीहरूलाई सजाय दिनेछ ।