१० कार्तिक २०८३, मंगलबार

डिएनए म्याच भएन, बलात्कारमा प्रहरीद्वारा प्रमाण नष्ट

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । एक वर्षअघि ललितपुरको गोदावरी–१ गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधबार गोदावरीमै पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

केही समय भारतमा लुकेपछि पछिल्लो समय उनीहरू गाउँ फर्किएका थिए । उनीहरूविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दा दायर छ । कार्यालयबाट साँझ घर फर्कँदै गरेकी स्थानीय युवतीलाई टाउकामा ढुंगाले हानेर बेहोस बनाई बलात्कार गरेको आरोप उनीहरूमाथि छ । पीडित युवती अर्को बिहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन् ।

घटनाको एक सातापछि तीनैजना पक्राउ परेका थिए । तर, जिल्ला अदालत ललितपुरका न्यायाधीश बालमुकुन्द दवाडीले पर्याप्त प्रमाण नपुगेको भन्दै गत वर्ष २६ पुसमा उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश दिएका थिए । तर, पीडितहरू उच्च अदालत गएपछि २५ माघमा थुनामा राख्ने आदेश भएको थियो । सो आदेशसँगै उनीहरू फरार थिए ।

पछिल्लो समय अभियुक्तहरू गोदावरीमै रहेको सूचना पीडित परिवारले नै प्रहरीलाई दिएको थियो । सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमध्ये रघु आफ्नै घरनजिकै सानो छाप्रोमा बाहिरबाट ताल्चा लगाएर भित्र लुकेका थिए । उनी गत मंगलबार मात्रै भारतबाट नेपाल आएको खुलेको छ । त्यस्तै, विशाल र पवन गोदावरीको होटेलबाट पक्राउ परेका हुन् । उनीहरू दुवैजना केही महिनाअघि नै नेपाल आएको र विभिन्न ठाउँमा लुकेर बस्दै आएको खुलेको छ ।

पक्राउ परेका तीनैजनालाई बिहीबार अदालतमार्फत कारागार चलान गरिने ललितपुरका एसएसपी रवीन्द्र धानुकले बताए । अभियुक्तहरू पक्राउ परेकामा राहत महसुस भए पनि फैसला नभएसम्म न्याय पाउनेमा आशंका रहेको पीडित किशोरीकी आमाले बताइन् ।

घटना गत वर्ष २ मंसिरको हो । कार्यालयबाट बस चढेर गोदावरी–गोदामचौरनजिकै बसस्टपमा ओर्लिएर हिँड्दै घरतर्फ जाँदै थिइन् । साँझ परिसकेको थियो । बाटोछेउमा रहेका युवकहरू लागुऔषधको नशामा थिए । उनीहरू छिमेकी हुन्, त्यसैले युवतीले पनि चिन्दथिन् ।

तर, चिनेकै युवाहरूले अचानक आक्रमण गरे । उनले प्रतिकारको प्रयास गरिन् । उनीहरूले टाउकोमा ढुंगाले हानेर बेहोस बनाए । बलात्कार गरेपछि झोलाबाट तीन हजार रुपैयाँसमेत चोरी गरे ।
छोरी घर नफर्किएपछि परिवारले केही घन्टामै प्रहरीमा निवेदन दिए । उनको मोबाइल पनि अफ थियो । रातभरि खोज्दा पनि उनी भेटिइनन् ।

भोलिपल्ट बिहानै सडकमुनि बारीमा उनी बेहोस अवस्थामा भेटिएकी थिइन् । एक सातापछि मात्र शिक्षण अस्पतालमा उनको होस खुलेको थियो । करिब एक महिना अस्पताल बसेकी उनी अहिले पनि शारीरिक रूपमा कमजोर छिन् । उनको दाहिने हातले राम्रोसँग काम गर्दैन । दाहिने आँखा र कानमा पनि समस्या रहेको आमा बताउँछिन् ।