बाँके, २३ मंसिर । वर्षाभरी ढकेरीबासी ढुक्कले निदाउन सकेनन्। सिक्टाको नहर भत्केर डुबानमा परिने हो कि भनेर। बस्तीनजिक नहर बनाउन नदिन उनीहरुले सकेसम्म जोड गरे। तर सकेनन्।
ठेकेदारदेखि सीडीओसम्मले उनीहरुलाई थर्काए। सरकारी योजनाको विरोध गर्ने भनेर धाकधम्की दिए। आयोजनामा कच्चा काम भएको स्थानीय हेरिरहन बाध्य भए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
नभन्दै परीक्षणकालमै नहर भत्कियो। नहर बनाउँदा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले शुक्रबार २१ जनाविरुद्ध मुद्दा पनि दायर ग-यो। तिनलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा हालेपछि यहाँका बासिन्दा अत्यन्त खुसी भएका छन्। तिनलाई कारबाही हुनैपर्ने माग उनीहरुको छ। ती कतै शक्तिको आडमा उम्किने हुन् कि भन्ने चिन्ता पनि स्थानीयलाई छ।
नहर भत्किँदा सबैभन्दा खतरामा पर्ने क्षेत्र हो ढकेरी। यो राप्ती सोनारी गाउँपालिकाको ८ र ९ वडामा पर्छ। यहाँका तीन सयभन्दा बढी घर डुबानको जोखिममा छन्। ढकेरीबासी निकुञ्ज छेउबाट नहर खनियोस् भन्ने चाहन्थे।
ढकेरीबासीको मत बुझ्न हामी शनिबार दिउँसो त्यहाँ पुग्यौँ। केही स्थानीय हातहातमा अखबार बोकेर छलफल गरिरहेका थिए। विषय थियो, सिक्टाको भ्रष्टाचार।
आयोजनाले चंगाई खोलादेखि पूर्वतिर तीन वटा पहाडको माटो नहर बनाउन प्रयोग गरेको थियो। डोजरले माटो खन्दै टिपरबाट पटान गरिएको थियो। ‘टिपरले माटो थुपार्दै रोलर लगाउँथे’, ढकेरीका गोविन्द थापा भन्छन्, ‘घुलनशील माटोको ठूलो चाङ बनाएर रोलर लगाउँदा माटो राम्ररी दब्दै दबेन। सुरुमै ठाउँठाउँमा भ्वाङ परे। पानी छोड्नेबित्तिकै त्यही प्वालबाट छि¥यो र नहर भत्कियो।’
यस्तो माटोमा नहर बनाउन नहुने भनेर स्थानीयले आपत्ति पनि जनाए। तर उनीहरु एक्लै परे। जिल्लाका राजनीतिक नेतृत्व र नागरिक समाज मौन बसे।















प्रतिक्रिया