
काठमाडौं, २२ मंसिर । साविक विजेता विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दै पारस खड्काको विराटनगरले शुखद शुरुवात् गरेको हो ।
शनिबार भएको उद्घाटन खेलमा ललितपुरले दिएको १०५ रनको सामान्य लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि करण केसीले अविजित ३६ रन जोडे । यस्तै आसिफ शेखले १९, अनिल कुमार साहले ११ रन भने कप्तान पारस ८ रनमा पेभिलन फर्के । ललितपुरका गौरव तामोरले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन जोडे । यस्तै सन्नी पटेलले २० तथा पवन शार्रफले १४ रन बनाए । विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले २÷२ विकेट लिए ।
लिग अन्तर्गत आइतबारको पहिलो खेलमा ललितपुर र चितवन टाइगर्स भिड्ने छन् भने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।















प्रतिक्रिया