सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

साढे तीन वर्षपछि भूकम्पको इपिसेन्टर

दैनिक नेपाल २०७५ मंसिर २२ गते ६:३३

काठमाडौं, २२ मंसिर । दोलखाका उत्तरी क्षेत्रका तीन गाउँपालिका (साविक १८ गाविस) को केन्द्र हो सिँगटी बजार । २९ वैशाख ०७२ को दोस्रो भूकम्पको ‘इपिसेन्टर’ सिँगटी बजारमा रहेका चारवटा पक्की घरबाहेक अन्य सम्पूर्ण घर ढलेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

व्यापार व्यवसाय मुख्य पेसा रहेको त्यस क्षेत्रका बासिन्दाको व्यापार चौपट भएको थियो । तामाकोसी र सिँगटी खोलाको किनारमा रहेको यो साँघुरो बस्ती यसै पनि बाढीको जोखिममा छँदै थियो ।

भूकम्पपछि गएको पहिरोले ११ जनाको ज्यान मात्रै लिएन, दीर्घकालका लागि बस्तीलाई झन् जोखिमपूर्ण बनाइदियो । त्यो अत्यासलाग्दो घटना भएको साढे तीन वर्षपछि सिँगटी बजार धुलो टक्टक्याउँदै पूर्ण रूपमा उठेको छ ।

सिँगटी बजार भएको बिगु गाउँपालिका–४ का वडाध्यक्ष बुक्तम तामाङ भन्छन्, ‘तीन वर्षको बीचमा यहाँका अधिकांश बासिन्दाले घर बनाइसके । प्राविधिक हिसाबले पहिलेभन्दा बलिया घर बनेका छन् ।’

भूकम्पपछि सो वडामा एक हजार दुई सय ९९ जना लाभग्राही पहिचान भएको र १ हजार एक सय ५० जनाले अनुदान सम्झौता गरेकोमा करिब एक हजार घर बनिसकेको उनले जानकारी दिए ।

प्राधिकरणका इन्जिनियर सुमनकुमार प्रभाकरका अनुसार बिगु–४ मा ९२० जनाले दोस्रो किस्ता लिएका छन् भने ७२० जनाले तेस्रो किस्ता बुझेका छन् । १८५ जनासँग भने अनुदान सम्झौता हुनै बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित