शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

निर्मला पन्त प्रकरण : काठमाडौँबाट पक्राउ परे एक शंकास्पद युवक

दैनिक नेपाल २०७५ मंसिर १९ गते १९:५९

काठमाडौं, १९ मंसिर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा एक जना शंकास्पद युवालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । निर्मलाकै गाउँका २२ वर्षीय एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई पक्राउ गर्ने बित्तिकै डिएनए टेस्टका लागि स्याम्पल पठाइएको सिआइबीले जनाएको छ। हाल उनको नाम गोप्य राखिएको छ । पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् । निर्मला प्रकरणमा शंकाको घेरामा रहेका ती युवा सुदुरपश्चिमबाट हराईरहेका थिए । घटना हुँदा उनी गाउँमै भएको तथा घटनालगत्तै काठमाडौँ आएको प्रहरीले बताएको छ ।

उनको गतिविधिका आधारमा उनी नै संलग्न छन् कि भन्ने शंका भएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रक्राउ गरिएका युवामाथि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनायो ।  ४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन । निर्मलाको गएको साउन ११ गते बलात्कार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटना छानविन गर्न विभिन्न समिति बनाइएपनि अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन । छानविन समितिको सिफारिसका आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको थियाे ।

यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । उनको डिएनए नमिलेपछि थुनामुक्त गरिएको थियो । यस्तै एसपी बिष्ट, उनका छोरासहित पाँच जनाको डिएनए पनि परीक्षण भएको थियो । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएको थियो ।

हत्यारा पत्ता लगाउन माग गर्दै निर्मलाका आफन्तहरु कञ्चनपुरमा धर्नामा बसिरहेका छन् । धर्नामै बसेका बेला अस्वभाविक व्यवहार देखाएपछि निर्मलाका बुवा यज्ञराजको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित