११ कार्तिक २०८३, बुधबार

पोस्टर टाँस्दै गरेका युवामाथि झम्टियो प्रहरी, टाँसिएका पोस्टर पनि च्यातेर फालियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । सरकारले निकै महत्व दिएको एसिया प्यासिफिक समिट सकिएको छ । पाहुना पनि आफ्ना घर फर्किएका छन् । तर, समिटसँग कुनै सम्बन्ध नरहेको दाङमा प्रहरीले पोस्टर टाँस्ने युवामाथि बल प्रयोग गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मंगलबार घोराहीको तुलसीपुर चोकमा जम्मा भएका युवाहरूले निर्मलाको तस्बिरअंकित पोस्टर टाँस्न खोजेका थिए । तर, प्रहरीले सीधै हस्तक्षेप गरेपछि धेरैबेर तनाव भएको थियो ।

आक्रोशित युवाहरूले गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग्दै नाराबाजी गरेका थिए । घन्टौँको नाराबाजीपछि युवाहरूले पोस्टर टाँस्न प्रयास गरेका थिए । तर, हुत्तिँदै आएका प्रहरीले पोस्टर टाँस्न अवरोध गरेका थिए । टाँसिएका पोस्टर पनि च्यातेर फालिएका थिए ।

यसरी पोस्टरविरुद्ध प्रहरी देशव्यापी रूपमा कारबाहीमा उत्रिए पनि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य भएको छैन । निर्मलाको न्यायका लागि लागिरहेका अभियन्ता तथा सर्वसाधारणले सरकारलाई दबाब दिन सवारीसाधन तथा झोलामा निर्मलाको पोस्टर टाँस्ने अभियान सुरु गरेका छन् ।

उनीहरूले सोमबार राजधानीमा सार्वजनिक यातायातका साधनमा पोस्टर टाँसे । निजी सवारीसाधन तथा झोलामा समेत निर्मलाको पोस्टर टाँसेर न्यायका लागि दबाब बढाएका छन् । पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’, ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’ (ढिलो न्याय दिनू, न्याय नदिनु हो) जस्ता नारा लेखिएका छन् ।

महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । घटनामा सुरुदेखि पीडितलाई असहयोग गर्नुका साथै कतिपय प्रमाणसमेत नष्ट गरेपछि प्रहरी विवादमा तानिएको थियो । छानबिनका लागि अनेक समिति गठन हुँदा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । त्यसैले, सरकारलाई दबाब दिन आन्दोलन जारी छ ।