काठमाडौं, १८ मंसिर । हिरासतमा रहेकी एक जना लेडी डनको आपराधिक पिरतीको गाथाको चर्चा अहिले प्रहरी वृत्तमा हुन थालेको छ । उनलाई अनुसन्धान गर्ने समय अझै एक महिना भन्दा बढी छ । तर, उनीविरुद्ध आएका बयान र उनको हर्कतले प्रहरीमा उनको पिरतीको चर्चा छ । ति लेडी डन हुन् थुनामा रहेका गुन्डानाइके समिरमान बस्नेत पत्नी माया शेरचन बस्नेत । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
पतिसँग उनको पिरती यति नजिक रहेछ की हरेक आपराधिक काममा हतियारको व्यवस्थापनको जिम्मा लिएकी रहिछन् । अहिले पनि प्रहरी अधिकारीलाई उनले केही पनि गर्न नसक्ने आक्रोशपूर्ण बयान दिने गरेकी रहिछन् । स्रोतले भन्यो,‘पतिको माया त राम्रो काममा हुनुपर्ने, आपराधिक कामबाट दिक्क हुनुपर्ने उनी त मायाप्रेममा अपराध गर्न नै उद्दत रहिछन् ।’
पति समिरमान बस्नेतलाई नख्खु कारागारबाट मुस्ताङ सारेपछि इन्काउन्टर हुने डरले माया उजुरी बोकेर सर्वोच्च अदालत पुगेकी थिइन् । उनको उजुरीमा सर्वोच्चले समिरमानलाई तीन दिनमा उपस्थित गराउन आदेश गरेको थियो । त्यो घटना पनि समिरमानको योजनालाई सहयोग गर्नका लागि नै मायाको चाल रहेको बताइन थालेको छ ।
यसको रहस्योद्घाटनको घटना एक ठूला मिडिया व्यावसायीको हत्यायोजनासँग सम्बन्धित रहेको जनप्रहारले प्रकाशित गरेको थियो ।समिरमानका सुटरले महानगरीय अपराध महाशाखालाई निर्माण व्यावसायी शरद गौचन हत्यादेखि अन्य काममा मायाले हतियार व्यवस्थापनको बयान दिएपछि मायाको अपराध पिरतीको रहस्य खुलेको थियो । अनि, उनलाई पक्राउ गरिएको थियो । वाफलका गुन्डा नाइके समिरमान इन्काउन्टरमा मारिएका मनोज पुनका अनेक आपराधिक कर्मसँग जोडिएका साक्षी हुन्, उनको अपराधको साक्षीचाहीँ माया रहिछन् । प्रहरी स्रोतले भन्यो,‘यो सामान्य महिला होइन । उसमा कुनै हिनताबोध पनि देखिएन ।’
प्रहरीले गौचन हत्याका ‘सार्पसुटर’ अम्बरबहादुर रानालाई पक्राउ गर्नासाथ मायाको संलग्नता फेला परेको थियो । रानालगायतको बयानले हतियार व्यवस्थापनको जिम्मा मायाले लिएको बयान दिए । जुन रेकर्डेड छ । त्यतिमात्र होइन गुन्डा नाइके दावा लामामाथि गोली प्रहार हुँदा पनि मायाले नै हतियार व्यवस्थापन गरेको बयान प्रहरीसँग छ ।
४ पुस २०७३ मा रुपन्देही देवदहका एमालेनिकट युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या हाल पक्राउ परेका लोप्साङ लामाले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तत्कालीन समयमा पनि समिरमानकी पत्नी मायाले नै लोप्साङलाई हतियार व्यवस्थापन गरेको अभियोग छ ।
काठमाडौंमै रहेका बेला रोशन बुढाथोकी, राना, श्याम गुम्बी र अजय थापालाई समिरमानको बाफलस्थित घरमा मायाले शरण दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महाशाखाका अनुसार भारतमा रहेका बेला समिरमान र उनको समूहलाई मायाले विद्यार्थीमार्फत पैसा पठाउने गरेकी थिइन् ।
‘अपराध गर्न सहयोग गर्ने, भागेका बेला रकम पठाउनेलगायतका अनेक प्रकरणमा उनको संलग्नता पुष्टि भइसकेको छ । अब, उनले स्वीकार गर्न मात्र बाँकी हो । हामी त्यसैलाई नतिजा दिएर मुद्दा लगाउने प्रयासमा छौं’, प्रहरी स्रोतले भन्यो ।















प्रतिक्रिया