काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता, उपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीका छोरा र ज्वाँइले दुई तिहाई बहुमतको सरकारभित्र कालो सत्ता चलाउन थालेका छन् ।
राजनीतिमा बेथिति निम्त्याउनका निम्ति सन्तान प्रेममा लिप्त नेताले कार्यकर्तालाई पाखा लगाउँदै सहयोगीका रूपमा आफ्ना र आफन्तलाई नै अगाडी सारेका छन् । राजनीतिक उत्तराधिकारीका रूपमा देखेका उनीहरूले सत्ताको दुरूपयोग गर्दा पनि नजरअन्दाज गर्दै आएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
यसरी कालो सत्ता चलाउनेमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाँई जीवन आचार्य, पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल, पूर्वउपप्रधानमन्त्री बामदेव गौतमका छोरा हरिश गौतम, गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालगायत छन् । अन्य नेता र मन्त्रीका छोरा, भतिजा र ज्वाँइले पनि प्रशासनयन्त्रलाई चलाउने र ठेक्कापट्टामा हिस्सेदारी लिने गरेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, टेलिकमका आयोजनाहरूमा उनीहरूकै बोलबाला रहेको छ । सुरक्षा संयन्त्रमा आचार्य, पुन, थापा र महराको चलखेल हुने गरेको छ । उच्च स्रोतका अनुसार बाबुको स्वकीय सचिवसमेत रहेका थापाले प्रहरीको बढुवा, सरूवामा पुन, आचार्यलगायतको सिफारिस बोकेर जाने गरेका छन् । त्यसअघि बामदेव गृहमन्त्री हुँदा उनका छोरा हरिशको बोलबाला थियो । ‘स्वार्थ भरिएका प्रहरी अधिकारी, सरकारी कर्मचारी र विभिन्न निकायका प्रमुखले पनि सन्तानको भरमा आफ्नो तरक्की खोज्ने गरेका छन्’, उच्च स्रोतले भन्यो,‘यस्तो काममा उनीहरू सक्रिय छन् ।’
खनालपुत्र निर्भिक भने यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्काको विवाद प्रकरणमा आइसकेका छन् । उनकै बोलबालामा उक्त ठेक्काको काम भइरहेको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी एकीकरण भएपछि यो समूहले संगठीत रूपमा नै राज्यका प्रत्येक संयन्त्रमा प्रभाव राख्न थालेका छन् । उच्च तहका नेताका छोराज्वाँईले नै भनेपछि कर्मचारीहरूले पनि भनेको काम नगरी सुख पाएका छैनन् । एक उच्च अधिकारी भन्छन्,‘हामीले काम गरेन भने हाम्रै सरूवा र कारवाही होला भन्ने पीर पनि छ ।’
कतिपय अवस्थामा विवादीत व्यक्तिलाई राजदूत नियुक्तिदेखिका काममा पनि यहि समूह सक्रिय रहेको देखिन्छ । नेताको यस्तो हर्कतबाट राजनीतिक अभियानका क्रममा सहयोग गरेका केहीले आत्महत्याको प्रयास पनि गरेका थिए । पूर्वलडाकु कुलप्रसाद भट्टराईले गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमा नै विष सेवन गरी यस्तो प्रयास गरेका थिए । ‘सबै छोराज्वाँईको बोलबाला हो भने हामीले उपचार खर्च पनि नपाउने, न्याय पनि नपाउने अवस्था रह्यो हामी मर्नुको विकल्प छ ?’, भट्टराईले भने ।
त्यसो त द्वन्द्वकालमा लागेको गोलीको छर्रा बोकेका भट्टराईले पार्टीले वर्गीय मुक्तिको कुरा गरी आफ्ना आफन्तलाई भ्रष्टाचारलिला मच्चाउँदा पनि संरक्षण गरेको आरोप लगाएका थिए । उनले आमरण अनशनसम्म बस्ने घोषणा गरिसकेका छन् ।
प्रशासनमा मात्र होइन, प्रदेश कमिटी, युवक संगठनको एकीकरण, विद्यार्थी संगठनमा पनि नेतापुत्र नै हावी गराइएको छ । संघर्षको मैदानमा हिँडेका कयन कार्यकर्तालाई वेवास्ता गर्दै नेताहरूले बैठकमा यस्तो लिस्ट तेर्साउने गरेका छन् । एकीकरणपछि विभिन्न कमिटीमा कार्यकर्ताले आफ्नो दाबेदारी दिए पनि छोरा ज्वाँईकै बोलबालमा नेता चलेको आरोप लाग्ने गरेको छ ।
राजनीतिमा छिराउन सिधै विद्यार्थी र युवक संगठनमा सदस्यता दिलाएर स्वकीय सचिवसहितका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा नियुक्ति दिइएको छ । गत प्रदेश सभा चुनावमा प्रचण्डले ज्वाँई आचार्यलाई टिकट दिलाएका थिए । पराजित भएपछि उनलाई उपराष्ट्रपति कार्यालयमा सल्लाहकारको नियुक्ति दिलाइएको छ । उपराष्ट्रपतिपुत्र दिपेश भने अनेरास्ववियु क्रान्तिकारीको पदाधिकारी छन् । यस्तै, गृहमन्त्री बादलपुत्र प्रतिक वाइसीएलमा छन् भने बामदेवपुत्र हरिश युवा संघ नेपालमा आवद्ध छन् ।
‘पार्टी र संगठनमा यस्ता कुरा राख्दा नेताले पनि वास्ता गरेका छैनन्, बरू उल्टै मुद्दा लगाउने धम्की पाइन्छ’, एक नेताले भने,‘प्रशासनयन्त्रमा पनि उनीहरूकै बोलबाला भएपछि सबैतिरबाट घेराबन्दीमा पारिएको छ ।’
कतिसम्म भने राज्यका हरेक निकायमा हुने नियुक्तिदेखिका काममा पनि यहि समूहको सक्रियता रहने गरेको छ । सामूहिक रूपमा र बाबुको आडको दबाब विभिन्न संयन्त्रमा पुग्ने गरेको छ । एक सचिव भन्छन्,‘प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीका घरका मान्छेको दबाब आएपछि कतिपय काम गरिदिनु पर्छ । भोलीलाई पनि नियाँलेर काम गर्नुपर्ने हुन्छ ।’
पूर्वलडाकुहरूका अनुसार जसले अहिले सत्ताको वरिपरि जिम्मेवारी पाएर मनलाग्दी गरेका छन् उनले जनयुद्ध, शान्ति प्रक्रिया र सतहको आन्दोलनमा कुनै पनि योगदान गरेका छैनन् । योगदान गर्नेलाई बाइपास गरी आफ्नालाई जिम्मेवारी दिँदै उपल्लो तहसम्म भ्रष्टाचार गर्दा आँखा चिम्लिनु वर्गीय मुक्तिको आन्दोलनमाथि कुठाराघात भएको उनीहरूको ठम्याई छ ।















प्रतिक्रिया