४ कार्तिक २०८३, बुधबार

फुत्किन लागेको पद जोगाउन यी मन्त्रीले निकाले जुक्ति, मिठाइ बाँडेर खुसीयाली साटासाट

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक महन्थ ठाकुरलाई हटाएको खुसीयालीमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले मिठाइ (लड्डु) बाँडेका छन् ।

मन्त्री साहले पाकिस्तनको उक्साहटमा मदरसा शिक्षा विधेयक प्रदेश सभामा दर्ता गराएको आरोप छ । मन्त्री साह राजपा नेपालका विवादित नेताका रुपमा चिनिन्छन् ।

मन्त्री साहले ठाकुरलाई हटाएको खुसीयालीमा मिठाइ बाँडेपछि राजपाभित्र खैलाबैला भएको छ । मदरसा शिक्षा विधेयक लगायतका विवादित निर्णय गरेपछि मन्त्री साहलाई हटाउने तयारी भएको थियो । मन्त्री पदबाट नहटाउन साहले महन्थ ठाकुरसँग आग्रह गरेका थिए । तर, ठाकुरले मन्त्री साहको प्रस्ताव अस्वीकार गरिदिएका थिए ।

आफ्नो मन्त्री पद फुस्किने भएपछि भाइटीकाको दिन सप्तरीमा मन्त्री साहले उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग भेटेर मन्त्री पद जोगाइदिन आग्रह गरेका थिए ।

विवादित मन्त्री साह राजपा नेपालका वरिष्ठ उपाध्यक्षसमेत हुन् । उनी राजेन्द्र महतो पक्षधरका मानिन्छन् ।

केही दिन अगाडि बसेको राजपा नेपालको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई संयोजक बनाएको थियो । ठाकुरलाई संयोजकबाट हटाइएकोमा सबैभन्दा धेरै खुसी मन्त्री साह भएका छन् । सोही खुसीयालीमा मन्त्री साहले मिठाइ बाँडेर रमाइलो गरेका हुन् । साहले ठाकुरलाई हटाएकै दिन निवासमा भव्य भोज पनि राखेको स्रोतले जनाएको छ ।

ठाकुरले एकल निर्णयबाट महामन्त्री जितेन्द्र सोनललाई प्रदेश संसदीय दलको नेता बनाएपछि नवलकिशोर साह रिसाएका थिए ।

महतो राजपाको संयोजक बनेपछि साहले आफू प्रदेश २ को संसदीय दलको नेता बन्ने दाबी गर्न थालेका छन् । राजपाका एक नेताले भने, ‘राजेन्द्र महतो र नवलकिशोर साहबीच राम्रो सम्बन्ध छ । साहले म दलको नेता बन्छु भन्न थाल्नु भएको छ ।’

राजेन्द्र महतोको स्वागतमा पनि मन्त्री साहले चुरीफुरी देखाएको एक नेताले बताए । महतोका लागि आवश्यक पर्ने खर्च पनि साहले नै गर्दै आएको चर्चा जनकपुरमा छ ।