
काठमाडौँ, ७ मंसिर । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह्रथुमको म्याग्लुङ्ग बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
बैंकिङ कारोबार खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहुँच स्थापित गर्न तथा राष्ट्रको उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेका सम्पूर्ण नेपालीहरुको जीवनस्तर उकास्ने अभिप्रायले नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा व्यवस्था भए बमोजिम ‘शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यवसाय विकास, प्राविधिक तथा व्यावसायीक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण एवं व्यवसायिक कृषि तथा पशुपंक्षीको लागि प्रदान गरिने कर्जाहरुमा तोकिएको ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ लाई लागु गरेको र कार्यविधि अन्र्तरगत कार्यक्रममा एनआईसी एशिया बैंक लिमिटेड म्याग्लुङ्ग शाखाबाट तीन जना ग्राहकलाई व्यवसायीक कृषि परियोजना अन्तरगत सहुलियत कर्जा प्रदान गरिएको छ ।
कार्यक्रममा कर्जा उपयोग गर्ने तेजबहादुर बस्नेत, बिष्णु प्रसाद सुवेदी र नरेन्द्र कुमार सुब्बालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्र बैंकका वरिष्ट डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी तथा विशेष अतिथि नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जा सुविधा प्रस्ताव पत्र हस्तान्तरण गरे । कार्यक्रममा म्याग्लुङ्ग बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक तथा जनता बैंकका शाखा कार्यालयहरुबाट समेत ग्राहक महानुभावहरुलाई कर्जा सुविधा प्रस्ताव हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा शिवाकोटीले ग्रामीण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा विशेष सहयोग तथा सहकार्य गरेकोमा एनआईसी एशिया बैंकलाई धन्यवाद दिए । उनले यस्ता कार्यक्रममा कर्जा विस्तार गरी राष्ट्र विकासमा थप योगदान पुर्याउन वाणिज्य बैंकहरुलाई विशेष आग्रह समेत गरे । नेपाल बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले नेपाल सरकारका यस्ता कार्यक्रममा बैंकिङ क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
एनआईसीको मुलुकभर २ सय ६६ शाखा कार्यालयहरु, २ सय ७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २ सय १० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६८ अर्ब तथा कर्जा रू. १ सय ४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको जनाएको छ ।
बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको नायव प्रमुख अर्जुनराज खनियाले जानकारी दिए ।















प्रतिक्रिया