काठमाडौं, ७ मंसिर । नेपाल–भारत सम्बन्ध सुधार भैरहेका बेला नेपाली कांग्रेसका एकजना प्रभावशाली नेताले दुई देशबीचको सम्बन्धलाई खलबल्याउने गरेर गतिविधि गरेका छन् ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले योगी आदित्यनाथ जनकपुरधाममा सीताराम विवाह महोत्सवमा जन्ती लिएर आउन लागेकोमा असन्तुष्टि जनाएका हुन् । निधिले हतारहतारमा बुधबार साँझ पत्रकार सम्मेलन गरेर भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउन लागेकोमा विरोध जनाए ।
कुनै बेला आफूलाई भारतको सबैभन्दा प्यारो र नजिकको ठान्ने यी नेताको गतिविधिले नयाँदिल्ली चिढिएको छ ।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सीताराम विवाह महामहोत्सवमा प्रमुख अतिथिका रुपमा बोलाइएको छ । कांग्रेसका नेता निधिले योगी आदित्यनाथको विरोध गर्दै उनको आगमनलाई दूर्भाग्यपूर्ण भएको बताएका छन् ।
उपसभापति निधिले पार्टीको आधिकारिक धारणालाई अभिव्यक्त गरेको प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गरेका छन् ।
हिन्दूराज्यको पक्षमा बोल्ने व्यक्तिलाई सीताराम विवाह महामहोत्सवमा मुख्य अतिथिका रुपमा बोलाइँदा गलत सन्देश जाने र त्यो दूर्भाग्यपूर्ण हुने कांग्रेसका उपसभापति निधिले बताएका छन् ।
कांग्रेसका प्रवक्ता शर्माले जयनगर–जनकपुर–कुर्खा रेल्वेको उद्घाटन योगी आदित्यनाथको सट्टा दुई देशका केन्द्रीय तहका मन्त्रीहरूलाई जिम्मा दिन आग्रह गरेका छन् ।
शर्माले भारतको एउटा प्रदेशका मुख्यमन्त्रीले मात्र रेल्वेलाइनको उद्घाटन गर्दा त्यसले कुटनीतिक विचलन ल्याउने र नेपालको सार्वभोमसत्ताको अवमूल्यन हुने चेतावनी दिएका छन् ।
जनकपुरमा यही मंसिर २१ देखि २७ गतेसम्म चल्ने सीताराम विवाह महामहोत्सवमा आयोध्याबाट मुख्यमन्त्री योगी आदित्यनाथ स्वयम् रामको जन्ती लिएर आउने निश्चित भएको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका उपसभापति एवम् जनकपुरवासी निधिले योगी आदित्यनाथको विरोध गरेपछि सीताराम विवाह महोत्सव विथोलिने हो कि भन्ने आशंका पैदा भएको छ ।
कांग्रेसका उपसभापति निधिले घटनालाई धार्मिक र सांस्कृतिकसँगै राजनीतिक दृष्टीकोणबाट विवादित गराउन खोजेको आरोप लागेको छ ।















प्रतिक्रिया