५ कार्तिक २०८३, बिहिबार

गायिका सिर्जुले ‘ब्याण्ड बाजा’ बजाएरै छाडिन्

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिर्जु अधिकारी, गायिका एवम् मोडल

काठमाडौं । सिर्जु अधिकारी गीत संगीतमा लागेको धेरै भैसक्यो । गीत संगीतमै लागेका कारण गायिका सिर्जुले धेरै फ्लोअर्स कमाएकी छिन् । मोडलिङ र गायनलाई एकैसाथ लिएर आएकी सिर्जुको बजारमा माग पनि छ । स्वदेश र विदेशमा हुने सांगीतिक कार्यक्रमहरूमा उनलाई निम्तो आउने गर्छन् । ‘विदेशका भन्दा पनि स्वदेशका धेरै सांगीतिक कार्यक्रमहरूमा सहभागी भएकी छु’, भन्छिन्, ‘बेलाबेला विदेश पनि जाने गरेकी छु ।’

गीतसंगीतमा जति नै ग्ल्यामर्स छ त्यति नै जोखिम पनि रहेको उनको बुझाइ छ । ‘गीत संगीतमा लागेर कमाइ नहुने होइन । हुन्छ’, गायिका सिर्जु भन्छिन्, ‘मैले त धेरै शुभेच्छुकहरू नै पाएकी छु ।’ दश वर्षदेखि गायन र मोडलिङलाई नै सिर्जुले पेशा बनाएकी छिन् । भन्छिन्, ‘अहिलेसम्म मन पराइदिनुभएको छ । भविष्यमा के हुन्छ थाहा छैन ।’

सिर्जु अहिलेसम्म सिङ्गल छिन् । भन्छिन्, ‘शुभेच्छुकहरूबाट बारम्बार कहिले बिहे गर्ने भनेर प्रश्न आइरहन्छ ।’ उनले समय आयो भने विवाह पनि गर्ने बताइन् । ‘चाहेर मात्रै पनि नहुँदो रहेछ’, उनले भनिन्, ‘समय आयो भन सबैलाई भनेरै बिहे गर्छु ।’ यौनसम्बन्धका बारेमा सोधिएको प्रश्नमा उनले गम्भीर हुनुपर्ने विषय नरहेको बताइन् । भन्छिन्, ‘यौनसम्बन्ध भनेको समाज हो । यसलाई सहि गलत के रुपमा बुझ्ने त्यो मान्छेमा भर पर्छ । जसले जसरी बुझ्छ त्यो व्यक्तिमा भर पर्ने कुरा हो ।’

समय र परिवेशअनुसारको गीत ल्याउनुपर्ने उनको भनाइ छ । ‘मैले पनि दर्शक स्रोता र शुभेच्छुकहरूको चाहना बुझेरै गीत गाउने गरेकी छु’, उनले भनिन्, ‘समयलाई नबुझ्ने कलाकार यो क्षेत्रमा धेरै टिक्न सक्दैन ।’ गायिका सिर्जुले आफ्नै संगीत र शव्दमा ‘ब्याण्ड बाजा’ बोलको गीत रेकर्ड गराएकी छिन् । उनले छिट्टै यो गीतलाई रिलिज गर्ने मुडमा छिन् । गीतमा ब्याण्ड बाजा बजाएकी सिर्जुले कोसँग बाजा बजाउने हुन् भविष्यले नै बताउला । त्यति मात्रै होइन सिर्जुले कृष्ण राजाबाबुको शब्द र संगीतमा पनि गीत गाएकी छिन् । ‘आकाश धर्ती जुनको’ बोल रहेको यो गीतबाट पनि सिर्जुले धेरै अपेक्षा लिएको बताउँछिन् । भन्छिन्, ‘दुबै गीत यस पटक दर्शक स्रोताहरूले मन पराइदिनु हुनेछ ।’

अञ्जु पन्त, स्वरुपराज आचार्यको स्वर उनलाई मन पर्छ । घर परिवारकै सहयोगमा गीतसंगीतमा लागेकी सिर्जु राम्रो डान्सर पनि हुन् । स्टेज कार्यक्रमहरूमा उनको नृत्यले धेरैका मन धड्किने गरेको छ । स्वर र नृत्यलाई उनले भगवानले दिएको उपहार भन्छिन् । ठूलो फिल्ममा कामका लागि प्रस्ताव आएको छ कि छैन भन्ने प्रश्नको जिज्ञासामा सिर्जुले भनिन्, ‘आउँछन् । सानो व्यानरका फिल्ममा कुरा भएका थिए । खेलेको छैन । आफूलाई मन परेका ठूला ब्यानरबाट प्रस्ताव आएको छैन ।’

धेरै म्युजिक भिडियोहरूमा सिर्जुको नृत्य हेर्न पाइन्छ । कार्यक्रमहरूमा सिर्जुको माग पनि छ । भन्छिन्, ‘बोलाएको कार्यक्रममा जाने गरेकी छु ।’ सिर्जुले कार्यक्रममा गएपछि यति नै लिन्छु भनेर अड्डी कसेकी छैनन् । कार्यक्रमको माहोल, आयोजक, चिनाजान, सामाजिक कार्य आदिलाई ध्यान दिएर डिमाण्ड गर्छिन् ।

गीतसंगीत र मोडलिङमा देखिएको बिकृतिबारे सिर्जु जानकार छिन् । भन्छिन्, ‘सबै ठाउँमा बिकृति छ । त्यो बिकृतिलाई कसरी पन्छाउने आफूमा भर पर्छ ।’ गीतसंगीतकै क्षेत्रबाट नाम कमाएका धेरै अग्रजहरू रहेको उनले बताइन् । ‘नाम मात्रै होइन पैसा कमाउनेहरू पनि छन्’, उनले भनिन्, ‘यसलाई तपाई के भन्नु हुन्छ ? राम्रो वा नराम्रो के गर्ने आफूमा भर पर्छ ।’ राम्रो कलाकारलाई दर्शक स्रोताले मन पराइदिएकै उदाहरण धेरै रहेको सिर्जुको भनाइ छ ।