
काठमाडौं, ४ मंसिर । डा. मंगलागिरी चन्द्रमौली महिला उत्थानका लागि पेन्टिङ गर्ने भारतीय हुन् । उनको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ताले भाइरल बनाउन थालेका छन् ।
माथिको तस्बिर प्रायः नेपालीका वालमा देखिनुको कारण हो– बलात्कारविरुद्धको अभियान । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन निक्र्यौलमा पुग्न सकेको छैन भने प्रत्येक दिन ६ जना बालिका, महिला र बृद्धा बलात्कारमा परेका उजुरी प्रहरीको रेकर्डमा आएको छ । यहि बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सांकेतिक विरोधका रूपमा रूपमा डा. चन्द्रमौलीको पेन्टिङलाई प्रयोग गर्न थालेका छन् ।
भारतीय पत्रिका द हिन्दूले एक बर्ष अघि चन्द्रमौलीको पेन्टिङ प्रदर्शनका विषयमा लेखेको थियो । उनी महिला इतिहासलाई पेन्टिङका माध्यमबाट विश्वमा चिनाउने व्यक्ति हुन् ।
महिलाअधिकारकर्मीको आन्दोलनलाई सहयोग पुग्नेगरी उनले पेन्टिङ बनाउने गर्छन् । भारतमा पनि अत्यधिक महिलाहिंसा हुने गरेको छ ।
विशाखापटन, अत्माकुर गाउँ, नेल्लोर जिल्लाका अति विकट बस्तीबाट उठेका डा. चन्द्रमौलीले गाउँमा महिलाले भोग्नुपरेको पीडालाई आँखाले देखेपछि पेन्टिङ मार्फत त्यसको विरोध गर्दै आएका थिए । उनले भनेका छन्,‘महिलालाई असमान दृष्टिले हेर्ने चलन आजको होइन, रामायणमा सीतालाई रामले प्रयोग गरे, महाभारतमा द्रौपदीलाई दुर्योधनले । यस्ता ग्रन्थमा पनि विभेद गरिएको छ ।’
नयाँ दिल्लीमा भएको निर्भया बलात्कारपछि उनले माथिको तस्बिर बनाएका थिए । जुन नेपालको सन्दर्भमा अहिले पन्त बलात्कारसहित विभिन्न ठाउँमा हुने गरेका बलात्कार प्रकरणविरुद्धको बुलन्द अनि क्रान्तिकारी चित्र बनिरहेको छ । त्यसैले धेरै नेपालीले उक्त पेन्टिङलाई सांकेतिक विरोधका रूपमा राखेका छन् ।
नेपाली फिल्म क्षेत्रका युवा भान प्रतापले उक्त तस्बिर राख्दै लेखेका छन्,‘बाल्यकालमा आमाको दूध खाएको पुरुष युवा अवस्थामा बलात्कार जस्तो जघन्य अपराध बन्न पुग्छ ।’

चन्द्रमौलीको तस्बिरजस्तै निर्मला पन्तको न्यायका लागि नेपाली चित्रकार सुनिल सिग्देलका दुई पेन्टिङले पनि निक्कै अर्थ राखेका छन् ।
सिग्देलका चित्र सामाजिक सञ्जालमा राख्दै नाट्यविधामा सक्रिय युवराज घिमिरे लेख्छन्,‘निक्कै शक्तिशाली चित्रकारिता । पुरा साधना र उच्चतम् विचार देख्छु । यी दुई सिर्जना एकै ठाउँमा राख्दा त झन कति शक्तिशाली बोलेका ?’
















प्रतिक्रिया