पोर्ट मोर्सबी, ३ मंसिर । अमेरिका र चीनबीचको विवादले एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर बैठक प्रभावित भएको छ । एपपुआ न्युगिनीमा आयोजना एपेकको बैठक पहिलोपटक संयुक्त घोषणापत्र जारी गर्न नसकी समाप्त भएको छ ।
गिनीको पोर्ट मोर्सबीमा एपेकको दुईदिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१ सदस्य राष्ट्रका सरकार प्रमुखहरू र प्रतिनिधिहरूको सहभागिता थियो । अधिकारीहरूका अनुसार चीन र अमेरिकाबीच मुख्यगरी विश्व व्यापार संगठनको भूमिकाका बारेमा उत्पन्न विवादले उग्ररूप लिएको थियो ।
सदस्य राष्ट्रको सहमतिमा सम्मेलनको अध्यक्षता गरेका पपुआ न्युगिनीका प्रधानमन्त्री पिटर ओ–निलले अध्यक्षको वक्तव्य मात्र जारी गरेका थिए ।
ठूलो संख्यामा उपस्थित पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै ओ–निलले भने, ‘चीन र अमेरिकाबीचको तनावका कारण विश्व चिन्तित छ ।’ प्रधानमन्त्री ओ–निलले नेताहरूको विवादले संयुक्त घोषणापत्र सार्वजनिक हुन नसकेको र त्यसबाट आफूलाई व्यक्तिगत रूपमा दुःख लागेको बताए ।
एपेक स्थापनाको २९ वर्षमा पहिलोपटक नेताहरूले संयुक्त घोषणापत्र सार्वजनिक गर्न सकेनन् । विश्व अर्थतन्त्रको करिब ६० प्रतिशत हिस्सा यही समूहको नियन्त्रणमा छ । एपीले फेला पारेको मस्यौदा घोषणापत्रमा चीनको अनुचित व्यापारिक अभ्यासका विरुद्धमा कडा शब्द राख्नुपर्ने अमेरिकी माग थियो । चीनले भने अमेरिकी संरक्षणवादको विरोध गर्न चाहेको थियो ।
यसै वर्षमात्र अमेरिकाले २ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छ । प्रतिशोध स्वरूप चीनले पनि अमेरिकी वस्तु तथा सेवामा करवृद्धि गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदोले सम्मेलनका क्रममा व्यापारका बारेमा भिन्न धारणा आउने कुरामा आफूलाई आश्चर्य नलागेको बताए ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स र चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारको उद्घाटन समारोहमा सम्बोधन गर्दा एकअर्काप्रति आक्षेप लगाएका थिए । उपराष्ट्रपति पेन्सले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि बौद्धिक सम्पत्ति चोरी गरेको, जबरजस्ती प्रविधि हस्तान्तरण गरेको तथा अनुचित व्यापारिक शैली अपनाएको आरोप लगाएका थिए ।
उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को नाममा विकासशील मुलुकहरूलाई ऋणमा फसेको आरोप लगाए । चीनले यसरी अरू देशलाई ऋणको जालोमा पारेको आक्षेप समेत लगाए । पेन्सले त्यस्ता देशलाई अमेरिकाको पक्षमा आउन आग्रह पनि गरे । उनले भने, ‘अमेरिकाले आफ्ना सहयोगीलाई ऋणमा डुबाउँदैन र स्वतन्त्रताको सम्मान गर्छ ।’
चिनियाँ राष्ट्रपति सीले यसमा आफ्नो कुनै लुकेको मुद्दा नभएको बताए । उनले अमेरिकी संरक्षणवादले पारस्परिक सहयोग अवरुद्ध गरेको बताए । संकीर्ण सोच राखेर अमेरिकाले अघि सारेको संरक्षणवाद विफल हुने दाबी गरे । उनले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व व्यापार संगठनलाई आफ्ना निहित स्वार्थी एजेन्डा पूरा गर्ने संस्थाका रूपमा हेर्न नहुने चर्चा गरे । एजेन्सी















प्रतिक्रिया