काठमाडौं, ३ मंसिर । कांग्रेस केन्द्रीय कार्यसमितिको बहुमतबाट नेविसंघको कार्यकाल दुई महिना बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेविसंघ अधिवेशनका लागि समय थप्ने कि विघटन गरेर तदर्थ समिति बनाउने भन्ने विवाद नेताहरुबीच कायम रहेपछि बहुमतबाट निर्णय लिइएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएका कारण निर्णयमा सर्वसम्मत भएन । संघको वर्तमान कार्यसमितिको कार्यकाल आइतबारदेखि नै सकिँदै थियो । आइतबार समय नबढाएको भए वर्तमान कार्यसमिति विधानतस् स्वतस् विघटन हुने अवस्था थियो । सहमतिबाटै निर्णय लिन शनिबार बैठक रोकिएको थियो । सर्वसम्मत निर्णयका लागि आइतबार पनि दिनभर प्रयास भए । नमिलेपछि दुई बजे बोलाइएको बैठक ६ बजेमात्रै बसेको थियो ।
पौडेल पक्षले वर्तमान संघको नेतृत्वबाट अधिवेशन हुन नसक्ने भन्दै तदर्थ समिति गठन गर्न माग गरेका थिए । तर, पूर्वमहामन्त्री सिटौलाले भने अधिवेशनका लागि दुई महिनाको समय नपुग्ने भन्दै न्यूनतम ६ महिनाको समय थप्नुपर्ने अडान राखे । विद्यार्थी मुद्दामा संस्थापनइतर पक्षीय नेताहरु समेत आपसमा विभाजित भएका थिए ।
संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्लेलगायत वर्तमान पदाधिकारीहरुले पार्टी नेतृत्वलाई अधिवेशन गराउन दुई महिनामा नसकिने भन्दै ६ महिनाकै समय दिन आग्रह गरेका थिए । तर, सभापति देउवा दुई महिनाभन्दा बढी समय थप्न तयार देखिएनन् ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठक छल्नका लागि मात्रै दुई महिनाको समय थप्ने काम नेतृत्वबाट भएको बताए । ‘एक महिनापछि हुने महासमिति बैठकमा आलोचना खेप्नुपर्ने डरले मात्रै दुई महिनाको समय बढाइएको हो । अधिवेशन गराउनका लागि होइन’ केसीले भने, ‘महासमिति छलेपछि आफूखुसी तदर्थ समिति बनाउने रणनीतिक योजनाअन्तर्गत यो निर्णय भएको हो । यसमा हाम्रो सहमति छैन ।’
बैठकमा उनले मध्यमार्गी प्रस्ताव पनि राखेका थिए । अधिवेशन गराउने सुनिश्चित आधारसहित ६ महिना थप्ने नभए विघटन गरेर विकल्पमा तदर्थ समिति बनाउने । संघको महाधिवेशन गराउने सुनिश्चित आधारका लागि प्रजातान्त्रिक कानुन व्यवसायी संघ, प्रजातान्त्रिक प्राध्यापक र शिक्षक संघको प्रतिनिधित्वसहितको समिति बनाएर अधिवेशनका लागि त्यसैलाई जिम्मा दिने प्रस्ताव थियो ।















प्रतिक्रिया