४ कार्तिक २०८३, बुधबार

‘मिनि क्यासिनो’ सिध्याउन प्रहरीको सक्रियता

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपाल प्रहरीले विभिन्न ठाउँमा हुने गरेका जुवा खाल र जुवाडेलाई निगरानीमा राखेको छ । जसलाई ‘मिनि क्यासिनो’ समेत भनिने गरिएको छ ।

चाडपर्वमा मात्र होइन, त्यसको अघिपछि पनि प्रहरीले त्यस्ता जुवा अड्डा र खाललाई नियन्त्रणमा लिनका लागि सादा पोसाकमा सूचक पनि खटाएको छ ।

यस्ता मिनि क्यासिनो घर, होटललगायतमा हुने गरेको प्रहरीको भनाई छ । काठमाडौं बत्तिसपुतलीस्थित होटल मिराज लर्डस इनमा छापा मारी शनिबार राती मात्र १३ जना ठूला व्यापारी पक्राउ गरेको प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

महेश गोयलको होटलको पाँचौ तलाको कोठा नंम्बर ५०२ मा जुवा खेलिरहेका १३ जनालाई ७ लाख ६० हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

काठमाडौंलगायत ललितपुुर र भक्तपुरमा पनि यस्ता जुवाखाल घर, होटल र पार्टी प्यालेसमा समेत हुने गरेको प्रहरीले सूचना पाएको छ ।

जुवा खेल्दै गरेको अवस्थामा भक्तपुर प्रहरीले तीन जुवाडेलाई पक्राउ गरेको थियो । मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीकाट प्रहरीले उनीहरुलाई पक्राउ गरिएको थियो । जुवाखालमा अवैध हिसाबले कमाएको रकमको प्रयोग हुने गरेको छ ।

तीनतले घरको माथिल्लो तलामा जुवा खेलाएको सूचना पाएपछि पुगेको प्रहरी टोलीले जुवा खालबाट ७८ हजार पाँचसय ७५ नगदसहित तास र कौडा बरामद गरेको थियो ।

‘चाडवाडमा पर्वका नाममा र अन्य बेला पेशा नै बनाएर सुविधा दिएर जुवा खेलाइने गरेको पाइन्छ’, एक प्रहरी अधिकारी भन्छन्,‘कौडादेखि तासका अनेक खेल विभिन्न समूहमा खेलाइने गरेको पाइएको छ ।’

बौद्धमा गएको महिना मात्र जुवा अड्डामा प्रहरीको छापा भएको थियो । सो क्रममा भाग्दा दुई जुवाडे घरबाट खसेका थिए । अघिल्लो महिना समयमा बौद्ध क्षेत्रबाट मात्र ४५ भन्दा बढी जुवाडे र ५ लाख बढि रकम समेत बरामद भएको थियो ।

समाजमा दूषित वातावरण बनाउने, झैझगडा निम्त्याउने र कतिपयको घरजग्गा नै लिलाम गरी यसरी ‘मिनि क्यासिनो’ सञ्चालनमा रहेका छन् । कतिपय भीआइपीका घरमा नै प्रहरीले छापा मार्ने गरेको छ ।

‘जुवाखाल जसको घरमा भए पनि हामीले निगरानीमा राखेका छौं, जुनसुकै बेला छापा मारी नियन्त्रणमा लिएर कारबाही अगाडी बढाउँछौं’, प्रहरी उच्च अधिकारी भन्छन् ।