४ कार्तिक २०८३, बुधबार

काठमाडौंमा कसरी रोकिन्छ किशोरकिशोरीको डिस्को नाइट ?

42.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नेपालका ठूला अखबारमा लाखौंको विज्ञापन गरेर एउटा मदिरा कम्पनीले शनिबारका लागि ‘डिस्को नाइट’ रहेको जानकारी दियो । प्रशासनसँगको अनुमति, सरकारलाई ठूलो कर तिरेको दबाबमा उक्त कम्पनीले गर्ने कार्यक्रममा १८ बर्ष माथिका युवायुवतीमात्र प्रवेश गर्न पाउने भनिएको छ ।

तर, व्यवाहारमा त्यो लागु हुँदैन । आयोजक कम्पनीका एक जना कर्मचारी भन्छन्,‘त्यो प्रावधान राखिए पनि प्रवेशका लागि परिचयपत्र हेर्ने गरिँदैन, टिकटका आधारमा नै छिर्न दिने हो ।’ प्रहरीले पनि आउने ग्राहकको उमेरका विषयमा ख्याल गर्दैन । सरकारी अनुमति पाएको मदिरासहितको कार्यक्रममा हुने सुरक्षाका विषयमा मात्र उसले ध्यान दिन्छ, बाँकी आयोजककै भरमा हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

यस अर्थमा काठमाडौंमा सरकारी अनुमतिमा नै हुने डिस्को नाइटमा किशोरकिशोरीको प्रवेशलाई रोक्न मुस्किल छ । ‘प्रमुख ग्राहक भनेकै त्यहि उमेरमा युवायुवती हुन् । जसले मदिरा, गीत र संगीतमा रमाइलो गर्छन् । अरु त लेख्ने र भन्ने कुरा मात्र हुन्’, आयोजक संस्थाका अर्का कर्मचारी थप्छन्,‘बाँकी कुरा वाइयात मात्र हुन् ।’

काठमाडौंमा प्रायः हुने शुक्रबारे कल्चरमा किशोरकिशोरीको प्रवेश अत्यधिक हुने गरेको छ । त्यहिँमाथि विशेष कार्यक्रममा त उनीहरूको सहभागिता अनिवार्य हुने गरेको छ । विभिन्न व्यान्ड, रक गीत गाउने गायकगायिका रहने कार्यक्रममा सम्बन्धित उमेरका ग्राहक नै अनिवार्य हुनेमा आयोजक ढुक्क रहने गरेको छ ।

तर कानुनतः १८ बर्ष वा त्यसमुनिका किशोरकिशोरी नाइट क्लब, डिस्को र बारमा प्रवेश दिनुलाई वैधानिकता मानिँदैन । शुक्रबारे नाइटकै क्रममा पनि ठमेल, दरबारमार्ग, ज्याठा, झमेललगायतका डिस्को र बारमा १५ देखि १८ बर्षसम्मका किशोरकिशोरीको जोडी नै बढी देखिने गरेका छन् ।

एक ट्याक्सी चालक जोड्छन्,‘डिस्कोबाट हामीले घर–घरमा पुराउने ग्राहकको उमेर अनुमान गर्दा कोही पनि १८ बर्ष नाघेका देखिँदैनन् ।’

बेलाबखत डिस्को र बारमा निगरानी बढाएर किशोर–किशोरीलाई प्रवेश गराउने डिस्को र बारलाई निरुत्साहित गराउन प्रहरी सक्रिय हुने गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सरकारी अनुमतिका आधारमा हुने कार्यक्रममा प्रहरीलाई सुरक्षा मात्र दिनू भन्ने आदेश आएको छ । यद्यपि, विशेष बेला बाहेकका समयमा अहिले पनि बेलामौका छापा मारी १८ बर्ष मुनिकालाई घर पठाउने वा अभिभावकको जिम्मा लगाउने काममा प्रहरी सक्रिय नभएको होइन ।

किशोर–किशोरीलाई डिस्को र बारको ढोका खुला गराउने क्रम भने रोकिएन । गत शुक्रवार महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठामा रहेको ओनेक्स क्लबमा छापा मार्दा मध्यरातमा २३ जना नियन्त्रणमा लिएको थियो । केही किशोरीको उमेर १२ वर्ष मात्र रहेको प्रहरीले जनाएको छ । ‘अभिभावकको नियन्त्रण र अनुशासन नभएका कारणले पनि किशोरकिशोरी यसरी फेला परिरहेका छन्’, प्रहरी अधिकारीले भने,‘क्लबका सञ्चालक सत्यमान दोङलाई पक्राउ गरेका थियौं ।’

यस्ता क्लवमा मनोरञ्जन र मदिरामात्र होइन, वेश्यावृत्ति र लागुऔषधको पनि कारोबार हुने गरेको प्रहरीको अनुमान थियो । प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुबाहेक केही पनि गर्न पाउँदैन । तर, कतिपय सञ्चालक र आयोजक प्रशासनमा पहुँचका आधारमा निस्कने गरेका छन् । र, प्रवित्ति त्यहि दोहोराउने गरेको प्रहरीको ठम्याई छ ।

किशोरकिशोरीको प्रवेमा रोक नआएको प्रमाण प्रहरीमात्र होइन । विभिन्न ठाउँमा रातीसम्म मदिरा पसल खोल्ने सञ्चालकले पनि यसै भन्ने गरेका छन् । ‘शुक्रबार रातीसम्म पसल खोल्छौं, मदिरा लिन आउने अधिकांश किशोरकिशोरी नै हुन्छन् । गुड फ्राइडेको कल्चरले व्यापार बढेको छ’, जावलाखेलका एक पसले भन्छन्,‘तर उनीहरूलाई देखेर अहिलेको जमानामा भएहुने गरेका अपराधका कारण पनि केलाउने गर्छु ।’ डिस्को र बार सञ्चालकहरूका अनुसार महँगो पार्टीमा आउने अधिकांश किशोरकिशोरी धनाड्य घरानाका नै हुन्छन् ।