
काठमाडौं, २७ कात्तिक । एकले अर्काको अनुहार पनि हेर्न नमान्ने गिरिजाप्रसाद कोइरालापुत्री तथा कांग्रेस नेत्री सुजाता कोइराला र नेता कृष्ण सिटौलाबीच गत महिना भएको भेट आश्चर्यजनक थियो । त्यो भेट सभापति शेरबहादुर देउवाविरुद्ध कांग्रेसमा उभिएका फरक मोर्चाका नेतानेत्रीको थियो ।
भेटबाट एउटा निक्र्यौल तयार भयो कि महासमिति बैठक बस्नासाथ देउवाले गरेका निर्णयविरुद्ध देशव्यापी रूपमा कार्यकर्तामाझ सुझाव माग्ने । भेटको अर्को उद्देश्य थियो १४ औं महाधिवेशनमा तयार पारिने फरक मोर्चाबन्दीको छलफल ।
नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षमा सभापति देउवाले विधान मिच्दै पेलेर गएपछि प्रतिपक्षी नेता रामचन्द्र पौडेलले खुट्टा टेक्न नसक्दा दोस्रो तहका नेताको मोर्चाबन्दी कसिलो बन्न थालेको छ । त्यसको अर्को उदाहरण हो, सोमबार सुजाता निवास मण्डिखाटारमा पौडेलसहित प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, शेखर कोइरालालगायतका नेताको लन्च बैठक । तर, सुजाताको कुटीमा कांग्रेसको युवा गुटको नेतृत्व गरिरहेका सिटौला भने अनुपस्थित थिए ।
विजयकुमार गच्छादारलाई विधानविपरित सभापतिको भिटो पावरमा उप सभापतिमा नियुक्त गरेपछि कांग्रेसभित्र आन्तरिक शक्ति संघर्ष र समिकरणका छलफल जारी छन् । प्रस्ट तीन गुटमा देखिएका नेता अहिले संस्थापनइतरको ठूलो मोर्चाबन्दीको तयारीमा छन् ।
कांग्रेस विधानमा निर्वाचित केन्द्रीय सदस्यहरूबाट उपसभापति नियुक्त गर्ने वैधानिक व्यवस्था छ । तर गच्छादार आयातित नेता हुन्, पछिल्लो पटक । यसैमा सभापतिविरुद्ध नेताको दूरी बलियो बन्न थालेको छ ।
देउवा गुटकै उपसभापति विमलेन्द्र निधि यो निर्णयसँग असन्तुष्ट छन् । बहुमत र सहमतिको आधारमा भन्दै हरेक निर्णय गर्दै आएका देउवाले पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेर संसदीय दलको उपनेता समेत भएका गच्छदारलाई पनि उपसभापतिमा मनोनित गरेपछि देउवाको राजनीतिक भविष्यको लेखाजोखामा अन्य ओजनदार नेताको मोर्चाबन्दी भएको हो ।
देउवाले निधिको सहमति बिना नै गच्छदारलाई राजनीतिक निर्णय भन्दै उपसभापतिमा मनोनित गरेका हुन् । देउवासँगै महामन्त्रीमा चुनाव लडेका अर्जुननरसिंह केसी अर्को मोर्चामा आवद्ध छ न् । महिनाअघि देउवााविरुद्धको मोर्चाबन्दी निर्माण गरेका केसीले सभापतिका दुई प्रत्यासी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई एकै ठाउँमा बोलाएर दिवा भोज दिएका थिए ।
‘सभापतिको मनोमानी बढ्यो, अब चिर्न पर्छ । कांग्रेसको भविष्य नै समाप्त पार्ने भए’ भन्दै केसीले महासमिति र आगामी महाधिवेशनमा बलियो भएर प्रस्तुत हुनुपर्ने प्रस्ताव राखेका थिए ।
केसीले आफ्नै निवासमा गोंगवुमा उपसभापति पौडेल, सिटौला, डा. रामशरण महत र डा.शेखर कोइरालालाई एकै ठाउँमा बोलाइ देउवाविरुद्ध अघि बढ्न प्रस्ताव गरेका थिए । जबकि, महत र केसीको पनि राजनीतिक सम्बन्ध त्यति गतिलो हुँदै आएको थिएन ।
सकसमा दुश्मन पनि काम लाग्छ भनेजस्तै संस्थापनइतरमा रहेका महतलाई केसीको न्यायो स्वागत थियो । संसदीय दलको चुनावमा देउवालाई सहयोग गरेका महामन्त्री कोइराला पनि यहि गुटमा मिसिनुले अब कांग्रेसको राजनीति दुई धारमा मात्र विभक्त भए जस्तो देखिएको छ ।
मण्डिखाटारमा भएको दिवा भोजमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, सिंह, शशांक, सुजाता र शेखरको उपस्थिति थियो । बैठकले सभपाति देउवालाई प्रधानमन्त्री केपी शर्मा ओली जस्तै निरंकुश लाद्न खोज्ने र स्वेच्छाचारिताको प्रदर्शन गर्ने गरेको विषयमा छलफल भएको एक नेताले बताए ।
‘सभापतिले भिटो पावरका नाममा मनलाग्दी गर्न थाले, त्यसविरुद्धको संघर्षमा एकमत हुने सहमति बन्यो’, उच्च स्रोतले भन्यो,‘हरेक चिजमा सभापतिले अवैधानिक निर्णय लाद्न थाले ।’
पार्टीको सबै भन्दा शक्तिशाली भातृ संस्था नेपाल विद्यार्थी संघसहित अन्य संगठनको महाधिवशेन हुन नदिने षडयन्त्र, विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमा सहमति कायम गर्ने र महासमिति बैठकमा पेश हुने एजेण्डाको बिषयमा एक मत र समान धारणा राख्ने सहमति भएको बैठकमा सहभागी केसीले बताए ।















प्रतिक्रिया