११ कार्तिक २०८३, बुधबार

नेकपाभित्र भद्रगोल बढेपछि यी युवा नेताहरूले दिन थाले दवाव

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । सत्तारुढ नेकपाका युवा नेताले पार्टी बैठक अनिश्चित बन्दै गएपछि शीर्ष नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। नीति निर्माण गर्ने महत्वपूर्ण निकाय स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

विधानअनुसार ३ महिनाभित्र बस्नुपर्ने स्थायी समिति बैठक असार २१ यता बस्न सकेको छैन। यही अल्झनले दुई कम्युनिस्ट पार्टीबीच ३ जेठमा भएको एकता प्रक्रियाले तल्लो तहसम्म पूर्णता पाउन सकेको छैन। केन्द्रीय सचिवालयमै पनि तल्लो तहसम्मको पार्टी एकता र सरकारको प्रभावकारिताका विषयमा नेताहरूबीच मतैक्य हुन सकेको छैन।

‘पार्टी संगठनको काम भद्रगोल छ, सरकारको काम प्रभावकारी बन्न सकिरहेको छैन। यस्तो बेला पार्टी बैठक बस्न नसक्दा अन्योल झन् बढेको छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘तत्काल बैठक बोलाउन, तल्लो तहसम्म एकता टुंग्याउन र सरकारको काम प्रभावकारी बनाएर लैजान हामीले शीर्ष नेताहरूको ध्यानाकर्षण गराउन थालेका छौं।’

स्थायी समिति सदस्य जनार्दन शर्मा, योगेश भट्टराई, पौडेललगायत नेता संगठित रूपमै दबाब अभियानमा लागेका छन्। उनीहरूले सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, श्रममन्त्रीसमेत रहेका गोकर्ण विष्ट, परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलगायत नेतासँग पनि शीर्ष नेतृत्वमाथि दबाब बढाउने विषयमा औपचारिक/अनौपचारिक छलफल गरिसकेका छन्।

‘शीर्ष नेताहरूको भूमिकामा मात्र भर पर्दा तलसम्म एकता प्रक्रियाले गति लिन सकेन। पार्टीमा अब हामीले पनि भूमिका खोज्नुपर्छ भनेर हामी स्थायी समिति सदस्यले पहलकदमी बढाउन सुरु गरेका छौं’, पौडेलले भने ।

उनका अनुसार पार्टीभित्रका युवा पुस्ताका स्थायी समिति सदस्यहरूको यो टोलीले अहिलेसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग परामर्श नगरे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायत नेतासँग भेटघाट र छलफल गरिसकेको छ। वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसँग पनि कुरा गर्ने तयारीमा उनीहरु छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण दबाब नबढाएको उनीहरूको भनाइ छ।