शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

यी हुन् ‘सलाम’ नपाएपछि कार्यकक्षमै बोलाएर इन्स्पेक्टरको सातो लिने सिडिओ

दैनिक नेपाल २०७५ कार्तिक २६ गते ८:०७

घोराही, २६ कात्तिक । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गजेन्द्रबहादुर श्रेष्ठले एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले ‘सलाम’ नगरेपछि आफ्नै कार्यकक्षमै बोलाएर हप्काएको खुसाला भएको छ ।

ढिलो गरेर प्राप्त यो घटनाले सिडिओ श्रेष्ठका कारण दाङका प्रहरीहरूको मनोवल खस्किएको एकजना प्रहरी निरीक्षकले बताए । ती प्रहरी निरीक्षकले सलाम नगरेको विषयमा सिडिओ श्रेष्ठले तत्कालीन प्रहरी प्रमुख एसपी दुर्गा सिंहमार्फत बोलाएर आफ्नै कार्यकक्षमा हपारेको स्रोतले जनाएको छ ।

‘सिडिओ सापले आफ्नै कार्यकक्षमा बोलाएर प्रहरी निरीक्षकलाई गाली गर्नुभयो । त्यसपछि सलाम गर्ने सहमति भयो’, स्रोतले भन्यो, ‘सिडिओ सापले भनेपछि त्यस बेलाको दाङको प्रहरी प्रमुख एसपी दुर्गा सिंह आफैले प्रहरी निरीक्षकलाई श्रेष्ठको कार्यकक्षमा लैजानु भएको थियो ।’

एसपी सिंहकै अगाडि सिडिओ श्रेष्ठले गाली गर्दा ती प्रहरी निरीक्षकले आफ्नो अपमान भएको महशुस गरेका थिए । सिडिओ श्रेष्ठले एसपी सिंहकै अगाडि सातो लिएका प्रहरी निरीक्षकको नाम गोप्यताका कारण लेखिएको छैन । ती इन्स्पेक्टरको नाम दैनिक नेपालसँग छ । यस विषयमा दाङ प्रहरीले भने केही प्रतिक्रिया दिन मानेन ।

सिडिओ श्रेष्ठले हपारेपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीहरू आजकाल सर्तक छन् । सिडिओ श्रेष्ठलाई देख्नेवित्तिकै ठाउँको ठाउँ सलाम गर्ने गर्छन् । यो कार्यबाट जिल्ला प्रहरी कार्यालय दाङका उच्च अधिकारीहरू सन्तुष्ट छैनन् ।

स्रोतका अनुसार दुई महिनाभित्रै काज सरुवा भएका दाङका प्रहरी प्रमुख एवम् एसपी कृष्णहरि शर्माले पनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई कहिल्यै ‘सलाम’ गरेका थिएनन् ।

एसपी शर्माले सलाम नगरेपछि अपमान भएको ठानेका सिडिओ श्रेष्ठकै दवावमा दुई महिनाभित्रै दाङबाट काज सुरुवा गरिएको चर्चा चल्न थालेको छ । दशैँ सकिने बित्तिकै काठमाडौं आएका सिडिओ श्रेष्ठले एसपी शर्मालाई काज सुरुवा गराएरै दाङ फिर्ता भएका थिए ।

सिडिओ श्रेष्ठले शर्माको सरुवामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

राजनीतिक पहुँचका आडमा दाङमा अड्डा जमाएर बसेका सिडिओ श्रेष्ठले आफूलाई कसैले पनि हटाउन नसक्ने भनेर आफू निकटकाहरूलाई भन्ने गरेको स्रोतले जनाएको छ । तोकिएको कार्यकाल भन्दा पनि धेरै समयदेखि श्रेष्ठ दाङमा कार्यरत छन् ।

के भन्छन् सिडिओ श्रेष्ठ ?

यता प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अफवाह फैलिएको जस्तो कुनै पनि घटना नभएको दाबी गरेका छन् ।

आफूले सबै प्रहरीहरुलाई समान दृष्टिकोणले हेर्ने गरेको बताउँदै उनले सलाम नगरेको निहुँमा कसैलाई केही नभनेको जिकिर गरे । ‘मैले सिपाही समेतलाई हपारेको छैन, मेरो चरित्र हत्या गर्ने हिसाबले समाचारहरु आइरहेका छन्’, सिडिओ श्रेष्ठले भने ।

साथै उनले एसपी शर्माको सरुवामा आफ्नो कुनै संलग्नता नभएको पनि बताए । ‘१६, १७ महिनमा भयो म दाङको सिडिओ भएर बसेको आफै सरुवा हुन खोजेको छु, अरुको सरुवा गराउन किन लाग्नु ?’, उनले भने, ‘सिडिओले भनेर एसपीको सरुवा हुन्छ र?

 

प्रतिक्रिया
सम्बन्धित