मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

दक्षिण अफ्रिकामा अाउँखाे वर्षको मे महिनामा निर्वाचन गरिने

दैनिक नेपाल २०७५ कार्तिक २२ गते १२:२०

जोहानेसबर्ग, (दक्षिण अफ्रिका) २२ कार्तिक । दक्षिण अफ्रिकामा आगामी वर्षको मे महिनामा निर्वाचन गरिने भएको छ। देशको कमजोर अर्थतन्त्रप्रति नागरिकमा व्यापक असन्तुष्टि देखिएपछि त्यसलाई सम्बोधन गर्न चुनाव गर्न लागिएको हो।

यहाँकाे सत्ताधारी दल अफ्रिकन नेसनल कांग्रेस(एएनसी)मतदाताको बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न निर्वाचनबाट जनमत लिने निर्णयमा पुगेको बुधबार अधिकारीहरूले जानकारी दिएका हुन्।

तर दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले निर्वाचनको औपाचारिक घोषणा भने आगामी फेब्रुअरीमा गर्ने तयारी रहेको एएनसीले जनाएको छ।

सन् १९९४ आएको नेल्सन मण्डेलाको नेतृत्वमा आएको राजनीतिक एवम् सामाजिक परिवर्तनपछि सत्तामा रहेको एएनसीले सन् २०१६ को स्थानीय निर्वाचनमा नराम्रो नतिजा ल्याएको थियो।

स्थानीय निर्वाचनमा आएको खराब मत परिणामपछि लामो समयदेखि सत्ताको नेतृत्व गरेका ज्याकोब जुमालाई भ्रष्टाचार आरोपमा सत्ताबाट हट्न बाध्य पारिएको थियो।

जुमामाथि सत्तारूढ एएनसीले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएपछि उनले राजिनामा दिएका थिए।

जुमाले राजिनामा दिएपछि करिब नौ महिना पहिले धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको र यसमा आफ्नो महत्वपूर्ण भूमिका रहने उद्घोषसँगै रामाफोसा नयाँ राष्ट्रपति बनेका थिए।

दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल परेका उनी सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिका अध्यक्ष बनेका थिए।

सन् २०१४ मा भएको संसदीय निर्वाचनमा एएनसीले ६२ प्रतिशत मत ल्याएको थियो भने प्रतिपक्षी समूहको डेमोक्रेटिक अलाइन्सले २२ र दक्षिण अफ्रिकी बामपन्थी दल इएफएफले छ प्रतिशत मत ल्याएका थिए। रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित