मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

म्यान्चेस्टर युनाइटेड नकआउट चरणमा प्रवेश गर्ने पक्का

दैनिक नेपाल २०७५ कार्तिक २२ गते ७:४०

लण्डन, २२ कात्तिक । युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा युभेन्टसलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

बुधबार राति भएको खेलमा घरेलु मैदान एलियान्ज एरिनामा सुरुआती अग्रता लिएर पनि युभेन्टसले खेल आफ्नो पक्षमा पार्न सकेन ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लबविरुद्ध उत्कृष्ट गोल गरेका थिए । तर खेलको अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा युभेन्टसले समूहको दुई खेल अगावै नकआउट चरणमा पुग्ने अवसर गुमायो ।

युनाइटेडका लागि जुहान माटाले ८६ औं मिनेटमा शानदार फ्रि किकमा बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेटपछि युभेन्टसले आत्मघाती गोल गर्न पुग्यो ।

पाउल पोग्वाले प्रहार गरेको फ्रि किक युभेन्टसका एलेक्स सान्द्रोलाई छोएर गोल हुन पुगेको थियो । जितपछि समूह एचमा रहेको युनाइटेडको ७ अंक भएको छ भने शीर्ष स्थानमा रहेको युभेन्टसको ९ अंक छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित