बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

अमेरिकी चुनाव जित्दै नेपाली युवा ह्यारी भण्डारीले बनाए नयाँ रेकर्ड

दैनिक नेपाल २०७५ कार्तिक २१ गते १०:२२

काठमाडौं, २१ कात्तिक । अमेरिका छिरेको १३ बर्षमा त्यहाँको मेरिल्यान्ड राज्यबाट चुनाव जित्दै नेपाली युवा ह्यारी भण्डारीले नयाँ रेकर्ड बनाएका छन् ।

मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्रेटिक दलका तर्फबाट राज्य सभामा भण्डारी निर्वाचित भई सांसद बनेका हुन् । अमेरिकामा रहेका नेपाली समुदायको इतिहासमा उनले रेकर्ड स्थापित गरेका हुन् । गएको २६ जुनमा भएको पहिलो चरणको चुनावमा डेमोक्रेटिक दलका तर्फबाट उनि दोश्रो स्थानमा परी विजयी भएका थिए । मध्यावधि चुनावमा उनले दोश्रो स्थान हात पारी जीत सुनिश्चित गरे ।

गत जुन महिनामा सम्पन्न प्राथमिक चरणको निर्वाचनमा मैदानमा उत्रिएका ४ स्पर्धी थिए । भण्डारीसहित एरिक ब्रोम्वेल (पहिलो) कार्लज्याक्स (तेस्रो)मा विजयी भएका थिए । भण्डारीका लागि मध्यावधि चुनावले अमेरिकी राज्य संसदमा पस्ने ढोका खोलिदिएको थियो । उनी सन् २०१४ को चुनावमा पनि उठेका थिए । तर, पराजित भएका थिए ।

प्राथमिक निर्वाचनमा २० हजार ७ सय २६ खसेको मतमा भण्डारीले २८.१ प्रतिशत मत पाएका थिए । हिसाबकिताबमा त्यो ५ हजार ९ सय ४१ मत हुन आउँछ । चुनाव क्षेत्र जिल्ला ८ मा अमेरिकी सत्तारुढ रिपब्लिकन दलका उम्मेदवारले डेमोक्रेटिक दलको तुलनामा कम मत ल्याएका थिए ।

विश्वको सर्वशक्तिमान देशमा नै मूलधारको राजनीतिमा निर्वाचित भएर प्रवेश पाउने भण्डारी पहिला व्यक्ति हुन् । यस्तै, गरि न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्रेटिक दलकी उम्मेदवार मदलसा गुरुङ पनि उप विजेता बनेकी छिन् । उनी २ हजार २ सय ९२ मत प्राप्त गरेकी थिइन् भने उनले बिजयी उम्मेदवारलाई बधाई पनि दिएकी छिन् । मेरिल्यान्ड नेपालीको बाक्लो बसोबास रहेको अमेरिकी सहर मानिन्छ ।

भण्डारी सन् २०१४ मा चौथो स्थानमा परेका कारण बाहिरिएका थिए । सन् २०१४ मा डेमोक्रेटिक दलको तर्फबाट उनी आधिकारिक उम्मेदवार थिएनन् । तर, यस पटक सो दलले उनलाई आधिकारिक उम्मेदवार बनाएको थियो ।

भण्डारी अमेरिकी राज्य संसद भवन छिर्न सफल भएका छन् । निर्वाचन क्षेत्र संख्या ८ मा ह्यारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटिक पार्टीका तर्फबाट भिडेका थिए । ह्यारी लगायतले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग सामना गरेका थिए ।

मेरिल्याण्ड राज्य अन्तर्गत रिपब्लिकन दलका गभर्नरका लागि सशक्त उम्मेदवार ल्यारी होगनलाई मत हाल्नेले रिपब्लिकन दललाई मत खसालेता पनि डेमोक्रेटिक दलका उम्मेद्वार भण्डारीले जित हासिल गरे । भण्डारीले १५ हजार घरमा आफ्नो उम्मेदवारीबारे जानकारी गराएका थिए । घरदैलोमा उनको सक्रियताले पनि चुनावी परिणाम पक्षमा आएको बताइन्छ ।

भण्डारीको नेपाली गृहजिल्ला पर्वत हो । उनी अमेरिकामा पनि प्राध्यापन पेशामा छन् । मध्यावधी निर्वाचनमा हाउस अफ रिप्रिजेन्टेटीभ(प्रतिनिधि सभा सदस्य) को सबै ४ सय ३५ स्थान, सिनेटको १ सय स्थान मध्ये ३५ स्थान तथा अन्य ५० मध्ये ३९ राज्यका गर्भनरहरूको निर्वाचन भएको थियो ।

भण्डारी अमेरिकाका विभिन्न सहरमा छरिएर बसेका नेपालीमाझ पनि लोकप्रिय थिए । नेपाली समुदायले उनलाई चुनावी प्रचारमा भौतिक र आर्थिक सहायता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित