काठमाडौं, २१ कात्तिक । सडकको धुलो बढार्न काठमाडौं महानगरपालिकासँग ब्रुमर होइन, ब्रुमरको साँचो मात्र छ । चीन सरकारले महानगरलाई दिने भनेको ब्रुमर अझै आइसकेको छैन ।
‘हामीसँग ब्रुमरको साँचो मात्रै छ,’ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीले भनिन् । चीनले उपहार दिने भनिएको ब्रुमर नआइपुगेको र महानगरपालिकाले आफै खरिद गर्न लागेको ब्रुमर पनि नआएकाले सडकमा ब्रुमर चलाउन नसकिएको उनले बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
महानगरपालिकासँग रहेको सानो खालको ब्रुमरको ब्रस पनि भाँचिएको र भारतबाट मगाउनुपर्ने महानगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरले बताए ।
महानगरले ११ करोड रुपैयाँमा इटालीबाट खरिद गर्न लागेको पाँचवटा ब्रुमर आइपुग्न अझै चार महिना लाग्ने उनले बताए । ‘हामीसँग सञ्चालनमा एउटा पनि ब्रुमर छैन, भएको सानो खालको ब्रुमरको ब्रस भाँचिएको छ, यहाँ किन्न पाइँदैन । भारतबाट मगाउनुपर्छ,’ उनले भने ।















प्रतिक्रिया