मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

‘मुख्यमन्त्री डोरमणि सीआइएको पैसा खान्छन्, सूचना बेच्छन्’

दैनिक नेपाल २०७५ कार्तिक २० गते १४:२८

काठमाडौं, २० कात्तिक । प्रदेश ३ सरकारका पदमुक्त भौतिक पूर्वाधार मन्त्री तथा सांसद केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई सीआइएको पैसा खाएर सूचना बेच्ने काममा सक्रिय रहेको आरोप लगाएका छन् ।

‘अहिले एसीया फाउन्डेशनका नाममा लगानी भएको कार्यक्रममा मुख्यमन्त्री छन्, राज्यको संविधानविपरित काम गरेका उनी सूचना बेच्ने काममा पनि सक्रिय छन्’, मंगलबार राजधानीमा भएको साक्षात्कारमा स्थापितले भने,‘एसीया फाउन्डेशनले भारतमा कति लगानी गरेको छ, के–के गरेको छ हेरौं न ।’

उनले मुख्यमन्त्री पौडेलको सुखसयल गर्ने घर ललितपुरको भैंसेपाटीमा भएको बताउँदै उनले त्यसबारेमा प्रदेशका मन्त्री र सांसदलाई केही पनि थाहा नभएको बताए ।

मुख्यमन्त्रीको पद पाएपछि मनलाग्दी काम गरेका पौडेलले आफुलाई बर्खास्त गरेको समाचार सुने पनि पत्र नपाएको बताएका उनले थपे,‘मुख्यमन्त्री भएँ भन्दैमा मनलाग्दी गर्न वा बोल्न मिल्छ । प्रदेश संसदको विषयलाई उनले निजी विषय बनाउन सक्छन् ?’

राजधानी सार्ने विषयमा पनि विवाद बढेको बताएका उनले आफुले मुख्यमन्त्रीका अगाडी टेबुल ठटाएको बताए । उनले जोडे,‘राजधानी सार्न दिन्न, सार्न मिल्दैन भने । सार्ने कुरा आए काठमाडौंलाई नाकाबन्दी गर्छु भने । मैले ठटाएकै हो ।’

मुख्यमन्त्री मनलाग्दी गरिरहेको उल्लेख गरेका स्थापितले जोडे,‘प्रदेश सरकारका निर्णयहरूबारे मन्त्री, सांसदलाई थाहा हुँदैन । कस्तो पैसा लिने या नलिने भन्ने सल्लाह हुँदैन । मन्त्रीले भनेको सुझाव नलिने । केही नमान्ने, विदेशी सीआइडीसँग सम्बन्ध राख्ने को हो ? मुख्यमन्त्री होइन ?’

सीआइएलाई सूचना दिने मान्छे नेपाल कम्युनिस्ट पार्टीको मान्छे हुनै नसक्ने जिकीर गर्दै उनले पौडेललाई हेटौंडामा १० बर्ष मेयर भएको मान्छेले एउटा पार्कभन्दा केही नबनाएको कटाक्ष गरे । ‘उनी साम्राज्यवादका पक्षधर हुन्, नेकपाका पक्षधर होइनन्’ स्थापितले थपे,‘उपत्यकाको मान्छेका मत पाएर हेटौंडाका एउटा कुनाका मान्छे मुख्यमन्त्री भए । तिनले ठूलो कुरा गरेर हुन्छ ?’

प्रतिक्रिया
सम्बन्धित