मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

प्रचण्डको अगाडि मोटर साइकल चलाएपछि यी युवालाई कारबाही

दैनिक नेपाल २०७५ कार्तिक २० गते ६:३८

काठमाडौं, २० कात्तिक । कोसी अञ्चल अस्पतालमा रहेकी बिरामी ठूली आमालाई खाना लिएर हिँडेका एक युवकको लाइसेन्स प्रहरीले खोसेको छ ।

ट्राफिक नियम पालना नगरेकाले लाइसेन्स खोसिनु स्वभाविक थियो । इटहरीका सरोज कार्कीको हकमा भने ट्राफिक प्रहरीले फरक कारण देखाएको छ ।

खाना लिएर अस्पतालतर्फ जाँदै गरेका सरोजमाथि प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार गाडीको अगाडि मोटरसाइकल चलाएको आरोप लगाएको छ ।

सोमबार बिहान पौने ११ बजेको समयमा विराटनगरस्थित भाटभटेनी सुपरमार्के स्टोर अगाडि पुगेको समयमा प्रहरीले सरोजलाई रोकेनन् मात्रै को १९ प ७३५५ नम्बरको मोटरसाइकलमा सवार उनको लाइसेन्स नै खोसिदिए ।

सरोजलाई कोसी अञ्चल अस्पतालको बेड नम्बर १२८ मा उपचाररत ठूली आमालाई खाना पुर्‍याउने हतार भएका बेला सुरक्षाकर्मीले नेकपा अध्यक्ष दाहाल आएकले उनको अगाडि मोटरसाइकल गुडाउन नमिल्ने भन्दै रोकिदिए ।

सुरक्षाकर्मीले रोकेपछि कार्कीले आफूलाई अस्पतालमा रहेकी ठूली आमालाई खाना पु¥याउन हतार भएको बताएका थिए । उनले अस्पतालमा खाना लिएर हिँडेकोले आफूबाट अध्यक्ष दाहाललाई कुनै खतरा नहुने पनि बताए । तर अध्यक्ष दाहालको गाडी नजाउन्जेल जानै नमिल्ने भन्दै कार्कीलाई सुरक्षाकर्मीले थर्काउँदै त्यहीँ रोके ।

कार्कीले सुरक्षाकर्मीलाई जनताको मतले जिताएको नेताले जनतासँग डराउन नहुने भन्दै आफूलाई अस्पताल जान आग्रह गरिरहे । उनले यसो भनिरहँदा सुरक्षाकर्मीले व्यंग्यमिश्रित उत्तर दिँदै भने, ‘तपाई भोलि मन्त्री हुनु भयो भने हामी सलाम गर्न तयार छौँ । अहिले अध्यक्ष दाहाल सवार गाडी आएकाले जान दिन सक्दैनौँ ।’

त्यसपछि ट्राफिक प्रहरीले कार्कीको मोटरसाइकल मात्रै त्यहाँ रोकेनन्, उनको लाइसेन्स नै खोसे । त्यो बेलासम्म दाहाल सवार गाडी आएकै थिएन । लाइेन्स खोसिएपछि कार्कीले मोटरसाइकल र हेल्मेट पनि प्रहरीलाई बुझाए । बल्ल ट्राफिक प्रहरीले उनलाई चाबी र मोटरसाइकल दिए, त्यो पनि मेन रोडमा नगुड्ने शर्तमा

उनको लाइसेन्स भने खोसिएकै थियो । दाहाल मूल सडकबाट गएपछि कार्कीले ठूलीआमालाई खान पुर्‍याउन भ्याए । उनले ट्राफिक प्रहरीलाई १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । आफूले कुनै नियम नतोडेकै अवस्थामा ट्राफिकले १५ सय जरिबाना तिराएको गुनासो कार्कीले गरेका छन् ।

अध्यक्ष दाहालको सवारी अगाडि मोटरसाइकल कुदाएको आरोपमा लाइसेन्स खोसेर जरिवाना तिराएको बारेमा कुनै जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्सपेक्टर शिव पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित