५ कार्तिक २०८३, बिहिबार

फ्लोअप : सोनापुर मन्दिरको जग्गा यसरी पचाउन खोजिँदैछ, प्लटिङ गरी बेच्न थालियो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । सुनसरीको दुहवी नगरपालिका–८ सोनापुरस्थित राधाकृष्ण मन्दिरको जग्गाबारेको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेकै बेला जग्गा दलालहरूे प्लटिङ गरी बिक्रि गर्न थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको एउटा शक्ति केन्द्र र नेपाली कांग्रेसको शक्तिकेन्द्रको ध्वाँसमा दलालहरूले जग्गा बेच्न थालेका हुन् । जबकी, कम मुल्यांकन गरी मालपोत तिरेको विषयमा अख्तियारमा यस विषयको टुंगो लागेको छैन । मालपोत कर्मचारीहरू बिक्रि भएको जग्गा पास गराउँदा भएको भ्रष्टाचारका विषयमा बयान र तारेख धाइरहेका छन् ।

मन्दिरको १४ कट्ठा १ धुर जमिन किर्ते गरी हडपेर प्लटिङ गरिएको छ ।

हेर्नुहोस् प्लटिङ गरिएको मन्दिरको जमिन

सुनसरी–मोरङ औधोगिक करिडोरमा रहेको उक्त जमिनको मूल्य उच्च भए पनि मालपोतमा प्रति कट्ठा ७ लाख सरदर देखाइएको छ । दलाल समूहले कम्तिमा १५ लाख भन्दा बढी मुल्यमा जग्गा बेच्न थालेको स्थानीयले बताए ।

सुनसरी मोरङ औद्योगिक करिडोर अन्तर्गत रहेको अरिहन्त ग्रुपका उपाध्यक्ष रहेका र आफूलाई कांग्रेस नेता बिजयकुमार गच्छादारको नजिकको बताउने गोविन्द बजगाँई, ट्रेड युनियन कांग्रेसका ओम थापा, योङ कम्युनिस्ट लिगका केन्द्रीय सदस्य इश्वरी आचार्यलगायतको समूहले जग्गा प्लटिङ गर्नका लागि मन्दिर व्यवस्थापन समितिलाई प्रभावमा पारेको थियो । जसको सो क्षेत्रमा तिव्र बिरोध भएको छ

उक्त जग्गा बलजफ्ती कानुनविपरित पास गराई बिक्रि गरेको भन्दै सुनसरी क्षेत्र नम्बर ३ ‘क’का प्रदेश सांसद निलम बस्नेतले विरोध गरेका थिए । मालपोत कार्यालय सुनसरीमा कम मूल्यांकन देखाउनका लागि तत्कालिन माओवादीका कर्मचारी युनियनका गोविन्द पौडेललाई प्रयोग गरिएको थियो । जो यहि विवादमा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तारेख धाइरहेका छन् ।

स्थानीयवासीका अनुसार औद्योगिक क्षेत्रमा लामो समयदेखि सार्वजनिक तथा धार्मिक प्रतिष्ठानका बहुमुल्य सम्पत्तीमा राजनीतिक र शक्तिकेन्द्रको आडका आधारमा बजगाँईलगायतको समूहले आँखा लगाउने गरेको छ ।

‘विवाद सकिएको छैन । जग्गामा विवाद रहेकाले नै अख्तियार, अदालतसम्म कुरा पुगेको थियो’, एक स्थानीयवासी भन्छन्,‘मन्दिरको सम्पत्ती व्यक्तिको बनाउनका लागि मन्दिर व्यवस्थापन समितिका सचिव रामप्रसाद राईलाई मोही पनि देखाइयो । त्यहि आधारमा आधा जग्गा उसलाई दिने बाहनामा कम मालपोत तिरेर यो समूहले बिक्रि गर्न सुरु गरेको हो ।’

साबिकको सोनापुर गाविस–२ मा पर्ने कित्ता नम्बर २ (क) १३ मा पर्ने मन्दिरको नाममा रहेको १४ कट्ठा १ धुर जग्गा मालपोत कार्यालय सुनसरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र मन्दिर व्यवस्थापन समितिमा किर्ते निर्णय गराएर सो समूहले किनेको थियो । सुरुमा बजगाँईका नाममा पास गरिएपछि तीव्र विवाद भयो । विवादपछि बजगाँईले मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष उज्याला मानन्धरको नाममा जग्गा रजिष्ट्रेशन पास गराएका थिए ।

उक्त जग्गा बजगाईका नाममा २ चैत २०७४ मा पास गरिएको थियो । जग्गाको मूल्य सरकारी मुल्यांकनअनुसार प्रति कट्ठा ८ लाख रुपैंया भए पनि ७ लाख रूपैंया कायम गरिएको थियो । उक्त जग्गाको १४ लाख ५ हजार थैली रकम कायम गरी बजगाँईका नाममा पास भएको चार महिना पनि नबिति १९ असार २०७५ मा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मानन्धरका नाममा रजिष्ट्रेशन पास गराइएको थियो । कम मूल्य देखाएर मालपोत कार्यालयमा मालपोत पनि कम मात्र बुझाइएको छ । मोही देखाईको जग्गामा ७ कट्ठामात्र मन्दिर व्यवस्थापन समितिले बिक्रि गर्न पाउने प्राबधान रहन्छ ।

तर, दलालहरूको यो समूहले १४ कट्ठा नै हातमा लियो । त्यसका लागि मोही भनिने मन्दीर व्यवस्थापन समितिका सचिव रामप्रसाद राईलाई पनि प्रलोभन र दबाबमा राखेको बताइन्छ ।

अख्तियारमा उजुरी परेको पत्र हेर्नुहोस्

राज्यलाई हानी नोक्सानी पुराउनका लागि कमिशन लिएर दुहवी–८ का वडाध्यक्ष तारिक चन्द सरदारले नगरपालिकाको सिफारिस निकालेका थिए । स्थानीय सरकारका प्राधिकार पाएका सरदारले व्यक्तिगत मुनाफाका लागि मन्दिरको जमिन घोटालामा साथ दिएको भन्दै कारबाहीका लागि खरिदकर्ता, व्यवस्थापन समितिका उपाध्यक्ष मानन्धरसहित बजगाँईलाई कारबाहीका लागि ९ साउन २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी क्षेत्रीय कार्यालयमा उजुरी समेत परेको थियो ।

मन्दिरको जग्गा अनैतिक लाभ लिनका लागि बिक्रि गर्न लागिएको उजुरीका आधारमा प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयले रोक्नका लागि मालपोत कार्यालयलाई पत्राचार समेत गरेको थियो । मन्त्रालयको चलानी नम्बर १६५ नम्बरको पत्र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ८ चैत २०७४ मा पठाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले रोक्नका लागि परिपत्र गरेपछि यो समूहले व्यवस्थापन समितिलाई प्रयोग गरी उच्च अदालत बिराटनगरमा रिट हाल्ने नयाँ रणनीति अपनायो । त्यसका लागि व्यवस्थापन समितिका सबै सदस्यलाई दबाबमात्र दिइएन, प्रभावमा पनि राखियो । एक सदस्य भन्छन्,‘मलाई चित्त नबुझे पनि सबैले गरेको निर्णयमा सहभागी हुन परेको थियो ।’

४ वैशाख २०७५ मा व्यवस्थापन समितिको बैठक डाकी जग्गाका विषयमा मात्रै विशेष निर्णय गर्दै रोक्नुपरेको कारणविरुद्ध उच्च अदालत बिराटनगरमा रिट दायर गर्ने निर्णय माइन्युट तयार पारियो । उक्त माइन्युटमा मन्दिरको धर्मशाला बनाउनका लागि जग्गा बिक्रिवितरण गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

हेर्नुहोस् माइन्युट

शक्ति केन्द्रसम्म कोकोहोला
मन्दिरको जग्गामा विवाद आएपछि शक्ति केन्द्रसम्म यस विषयले कोकोहोला मच्चाएको छ । अख्तियारको मुख्य कार्यालय टंगालले यसलाई ध्यानमा राखेको छ भने जग्गा अनधिकृत हिसाबले बेचिएको भन्दै एउटा समूह सर्वोच्च अदालतसम्म जाने तयारीमा छ ।

बजगाँई र उनको समूहले बिजयकुमार गच्छादार, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक रहेका व्यक्तिको दबाब प्रशासन र स्थानीय तहका निकायमा पारेका थिए । दैनिक नेपालमा यस प्रकरणमा समाचार प्रकाशन भएपछि अख्तियार टंगालले गम्भिरताका साथ लिएको जनाएको छ ।

एकातिर राजनीति गर्ने र अर्कातिर जग्गा दलाली, उद्योगहरूमा वर्चश्व कायम राख्का लागि यो समूहले स्थानीय तहका अधिकारी, वडाध्यलाई पनि दबाबमा राख्ने गरेको बताइन्छ ।

यता, बजगाँईलगायतको समूहसँग चिनजान र सामान्य कारोबार भए पनि जग्गा प्रकरणबारे आफूलाई केही थाहा नभएको वाइसीएल केन्द्रीय सदस्य आचार्यले बताएका छन् । उनले दैनिक नेपालसँग भने,‘बजगाँई संलग्न रहेको उद्योगका केही काममा म सहभागी भए पनि जग्गा प्रकरणबारे केही थाहा छैन । त्यसमा मेरो कुनै पनि प्रकारको संलग्नता छैन ।’ उनले आफूमाथि लगाइएको आरोप गलत भएको जिकिर गरेका छन् ।

तर, स्रोतले भने आचार्यको अग्रसरतामा नै यहाँका कम्युनिस्टका नेताहरू र शक्तिकेन्द्रसम्मको दबाब मालपोतदेखि जिल्ला प्रशासन कार्यालयलगायतमा परेको दाबी गरेको छ ।