पोखरा, १८ कात्तिक । पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको छ । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीले बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले माग्नेकोे बिगबिगी रहेको बताए । लेकसाइडको सडकपेटी र फेवातालको फुटट्र्याकमा माग्नेकै कारण पर्यटकले धेरै सास्ती भोग्नुपरेको उनले बताए । यसरी भिख माग्ने भारतीय भए पनि पर्यटकलाई नेपाली नै भन्ने भ्रम हुने गरेको छ ।
पर्यटकले प्राकृतिक सौन्दर्यसँगै भिखारीले सडकपेटीमा उनीहरूसँग भिख माग्दै गरेको तस्बिर खिच्ने र सामाजिक सञ्जाललगायतका माध्यमबाट गलत सन्देश विदेशमा जाने गरेको भट्टराईको दाबी छ । न्यानो आतिथ्यता दिनुभन्दा पहिले नै भिखारीको क्रियाकलापले पर्यटकहरू हैरान बन्ने गरेको भट्टराई बताउँछन् ।
‘पर्यटकलाई यहाँको सुन्दरताले भन्दा पनि, भिखारीले देखाउने हर्कतले नेपालीप्रतिको धारणा नै बदलिएको छ,’ उनले भने, ‘एकातर्फ उनीहरूलाई स्वागत गर्न हामी आतुर छौँं, अर्कोतर्फ भिखारीहरूले पहिले नै पर्यटकको धारणामै परिवर्तन ल्याइदिने गरेका छन् ।’
पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रबन्धक सूर्य थपलियाले पर्यटन बजारमा नकारात्मक कुरा धेरै छिटो फैलने गरेको बताए । भिखारीले भिख मागेर हैरान पार्दा पर्यटकलाई नेपालबारे नकारात्मक धारणा आउने गरेको उनको भनाइ छ । सम्बन्धित निकायले यसको समयमै व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।
‘अन्तर्राष्ट्रिय बजारमा स–साना कुराले पनि असर पार्छ, भिखारी देख्दा सामान्य मान्न सकिन्छ, तर उनीहरूले गर्ने हर्कत र पर्यटकले बेहोर्नुपर्ने सास्तीका कारण पनि पर्यटन क्षेत्रमा भयानक असर पनि हुन सक्छ,’ उनले भने ।
पर्यटकहरू स्थानीय कला संस्कृतिबाट रमाउँछन् र अध्ययनसमेत गर्छन् । त्यसविपरीत सडकपेटीमा भिखारीले सास्ती दिने अवस्था आउनु लाजमर्दो अवस्था हुने संस्कृतिविद् तीर्थ श्रेष्ठको भनाइ छ । ‘भिखारीहरूको लाम लाग्नु देश र देशको संस्कृतिका लागि अशोभनीय हो,’ उनले भने । भारतीय भिखारीहरू भिख माग्ने उद्देश्यले मात्र नभई विभिन्न उद्देश्य राखेर भिखारीको भेषमा आएको हुन सक्नेतर्फ राज्य र राज्यका अंगहरू चनाखो हुनुपर्ने उनको धारणा छ । उनले त्यस्ता भिखारीलाई उठाएर भारतमै पठाइदिनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भिखारीका कारण समस्या भएको आफूले पनि महसुस गरेको बताए । तर, साना दुधेबालकसमेत भिख माग्न प्रयोग भइदिँदा समस्या भएको उनको भनाइ छ । उनीहरूलाई राख्ने प्रबन्धसमेत आफूहरूसँग नरहेको उनले बताए ।
उनले भने, ‘उनीहरूलाई हामीकहाँ राख्ने प्रबन्ध छैन, सरोकारवालासँग समन्वय गरेरै भए पनि निकास भने निकाल्नुपर्ने भएको छ ।’ भिख माग्न नपाइने र माग्न लगाउनेलाई समेत कारबाही हुने प्रस्ट कानुनी व्यवस्था रहेकाले कानुनी उपचारमा जाने या भारतीय भिखारीलाई उतै पठाउने भन्ने विषयमा महानगरसँग समन्वय गरेर निकास निकाल्ने उनले बताए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा भिख माग्ने ९५ प्रतिशत भारतीय रहेको आफूले पाएको बताए । नेपाली नगन्य रहेको उनको भनाइ छ । जो जताबाट आएर यहाँ भिख मागे पनि महानगरको समस्या भएकाले उपयुक्त विधिबाट निकास निकाल्ने उनले बताए । त्यसका लागि उनीहरूको पहिचान गर्ने र सम्बन्धित जिल्ला वा देश पठाउनेसम्मको विकल्प खोजिने उनले बताए । उनले पोखरामा बाहिरबाट गाडीमै राखेर भिखारी ल्याइने गरेको दाबी गरे । सबै सरोकारवालासँग बसेर निकास निकाल्ने र सभ्य सहरको रूपमा विकास गर्ने उनको धारणा छ ।
गत १ भदौबाट गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले सार्वजनिक स्थलमा भिख माग्न प्रतिबन्ध लगाएको छ । सो समितिमा भिक्षा मागे एक हजार रुपैयाँ र अरूलाई माग्न लगाएमा १० हजार रुपैयाँसम्म जरिवाना र कैदसमेतको व्यवस्था गरेको छ ।
ऐनको दफा १२६ मा गरिएको व्यवस्थाअनुसार कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा मागेमा, कसैले बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा माग्न लगाएमा र अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन दिएमा पहिलोपटक भिक्षा मागेको भए एक महिना कैद वा एक हजारसम्म जरिवानाको गर्ने व्यवस्था छ ।
दोस्रोपटकदेखि प्रत्येकपटक दुई महिना कैद वा दुई हजारसम्म जरिवानाको व्यवस्था छ । माग्न लगाएको भए पहिलोपटकमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दोस्रोपटकदेखि प्रत्येकपटक तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।
पोखराको लेकसाइडमै झन्डै २ सयको हाराहारीमा भिखारी रहेको व्यवसायीको दाबी छ । लेकसाइड मात्र होइन पोखराको बसपार्क, पृथ्वीचोक, न्युरोड, चिप्लेढुंगा र महेन्द्रपुलको सडकमा समेत भारतीय मूलका माग्ने धेरै छन् । भारतीय माग्नेहरू नेपालको सीमाबाट प्रवेश गर्ने र देशका अन्य सहर हुँदै पोखरा भित्रिने गरेका छन् । माग्न बालबालिकाको प्रयोग गर्ने, अंगभंग भएका अवस्थामा सडकमा बस्ने र कतिपयले पर्यटकलाई निरुत्साहितसमेत गर्ने गरेका छन् ।















प्रतिक्रिया