
काठमाडौं, १६ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत हुलास काठमाडौं रोयल्स्सँग बुटवल ब्लास्टर्स पराजित भएको छ ।
ज्ञानेन्द्र मल्लको काठमाडौंले सोमपाल कामीको बुटवललाई ३७ रनले हराएको हो ।
पोखरा रंगशालामा काठमाडौंले दिएको १७३ रनको लक्ष्य पच्छाएको बुटवलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाएपछि खेलको नतिजा काठमाडौंको पक्षमा परेको हो । बुटवलका लागि रोहन मुस्तफाले सर्वाधिक ६१ रनको पारी खेलेपनि टिमको हार टार्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले सर्वाधिक २८ बलमा ५८ रनको उत्कृष्ट पारी खेले । यस्तै जयकिशन कोल्शावालाले ४५ तथा पवन सर्राफले २२ रन जोडे । बुटवलका लागि विपिन खत्रीले २ विकेट लिए ।
बुटवलको शुक्रबारको हारसँगै अंक तालिकामा भने निकै उथलपुथल भएको । बुटवल दोस्रो स्थानबाट पाँचौं स्थानमा झरेको छ । उसको पाँच खेलबाट दुई जितसँगै ४ अंक मात्र भएको छ ।
यस्तै शुक्रबारको जितसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ४ खेलमा ३ जित्दै ६ अंक भएको थियो ।















प्रतिक्रिया