महेन्द्रनगर, १६ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ।
तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले भने, ‘केन्द्रदेखि जिल्लासम्म थुप्रै टोली अनुसन्धानमा खटिएका छौं।’ ‘अनुसन्धानका थुप्रै पाटा हुन्छन्, ती सबै प्रयोग गरिएको छ’, उनले भने, ‘ प्रहरीले सम्पूर्ण शक्ति लगाएको छ।’
निर्मलाका आमाबुवा न्यायका लागि भौंतारिरहेका छन्। हत्यारा पक्राउ पर्लान् र न्याय पाइएला भन्ने उनीहरूको आशा मर्दै जान थालेको छ। ‘न्याय मागिरहेका छौं’, निर्मलाका बुवा यज्ञराजले भने, ‘सरकारले उल्टै पीडा दियो।’ सरकार हत्यारा पत्ता लगाउनभन्दा अन्य विषयतर्फ केन्द्रित भएको उनको आरोप छ।
‘न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा उल्टै गोली हाने। दुःख मात्रै भयो’, उनले थपे, ‘न्याय नपाएसम्म निरन्तर लडिरहन्छौं।’ आन्दोलनका घाइतेको उपचारमा समेत सरकारले लापरबाही गरेको उनले बताए।
‘चारैतिर भौंतारिँदा परिवारको दैनिकी चलाउन समस्या हुन थालिसक्यो’, निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘सरकारले अहिलेसम्म किन हत्यारा पक्रन सकेन, को छ जसलाई जोगाउन यत्रो खेल भइरहेको छ।’ दुई प्रहरीको बर्खास्तलाई आँखा छल्ने काम भएको उनले गुनासो गरिन्।
‘न्याय मागेका माग्यै छौं’, उनले भनिन्, ‘कतैबाट सुनुवाइ भएन।’ निर्मलाका हत्यारालाई कारबाहीको माग राखेर आन्दोलनमा लागेका अधिकारकर्मीसमेत सरकारको शैलीप्रति रुष्ट भएका छन्।
‘न्यायका लागि सय दिनसम्म सडकमा भौंतारिँदा पनि अहिलेसम्म सरकारले हत्यारा पक्रन सकेको छैन’, नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले भनिन्, ‘शक्तिशाली भएरै होल जोगाइएको छ।’ सरकारले यसलाई गम्भीरतापूर्वक नलिए थप कडा आन्दोलन गरिने उनले चेतावनी दिए।















प्रतिक्रिया