काठमाडौं, १५ कात्तिक । उखु किसानको करिब पचास करोड बक्यौता रकम नतिरेको उजुरीपछि चिनी उद्योगी राकेश अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई त्रिपुरेश्वरस्थित निजी निवासबाट बुधबार पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने,‘राकेश अग्रवाल पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यलयले गृह मन्त्रालयको आदेश भन्दै पत्र काटेपछि हामीले पक्राउ गरेका हौँ । उनी अहिले हाम्रै हिरासतमा छन् ।’
प्रहरीका अनुसार अग्रवालले उखु किसानको ४७ करोड २६ लाख रुपैयाँ बक्यौता रकम तिरेका छैनन् । नवलपरासी र सर्लाहीका उखु किसान अग्रवालविरुद्ध आन्दोलित छन् । उनीहरूकै उजुरीका आधारमा गृह मन्त्रालयले अग्रवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र काटेको थियो । सोही पत्रपछि उनलाई परिसरले पक्राउ गरेको हो ।
परिसरका एसपी अशोक सिंहले उखु किसानको करिब ५० करोड रुपैयाँ बक्यौता नतिरेको उजुरीपछि अग्रवाललाई पक्राउ गरिएको बताए । कारबाहीका लागि उनलाई अब जिल्ला प्रहरी कार्यालय सर्लाही लगिने उनले बताए ।
अग्रवालको नवलपरासीमा इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि र सर्लाहीमा अन्नपूर्ण सुगरमिल प्रालि छ । दुबै उद्योग करिब डेड अर्व रूपैयाँको लगानीमा ६ बर्ष अघि स्थापना गरिएको हो । इन्दीरा सुगर मिलले उखु किसानलाई ८ करोड ५८ लाख ९९ हजार ४ सय ८१ रूपैयाँ तिर्न बाँकी छ भने अन्नपूर्ण सुगरमिलले ३८ करोड ६८ लाख बक्यौता तिर्न बाँकी छ ।
पक्राउपछि अग्रवालले चिनी बजारमा नबिकेको कारण किसानलाई भुक्तानी गर्न नसकेको बताए । बजारमा भारतीय र पाकिस्तानी चिनी रहेको र सोही चिनीका कारण नेपालमा उत्पादित चिनी बजारमा नबिकेको उनको दाबी छ ।
उनले भने, ‘सरकारले भारतबाट आउने चिनीलाई ट्यारिफ लगायो । तर, सरकारको निर्णय अघि नै नेपाल भित्रिएको चिनी अहिले बजारमा आए । उक्त चिनी सस्तोमा बिक्री हुन थाल्यो । हाम्रो महँगो भयो । अहिले नेपाली बजारमा पाकिस्तानी चिनी पनि छ ।
त्यो चिनी पनि हाम्रोभन्दा सस्तोमा बिक्री भइरहेको छ । उनीहरूले जुन दरमा चिनी बेच्छन् । हामी त्यही दरमा बेच्न सक्दैनौँ । त्यसो हुँदा नेपालमै उत्पादित चिनी बिकेन । नबिकेपछि कहाँबाट आउँछ पैसा रु त्यसो हुँदा किसानलाई हामीले रकम दिन नसकेको हो । नियतवश होइन ।’















प्रतिक्रिया