काठमाडौं, १४ कात्तिक । प्रहरीले अवैध लागुऔषध करोबारमा सशस्त्र प्रहरीका एक पूर्वअसइ र नेपाली सेनाका भगौडा नायकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–१० का हर्षबहादुर शाही र सेनाका नायक रामेछाप खाडादेवी–८ का ३८ वर्षीय झपडबहादुर कार्की छन् ।
उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको विशेष टोलीले कलंकीबाट पक्राउ गरेको हो । प्रहरीले शाहीबाट डाइजेपाम तीन सय, फेरगन तीन सय र बुप्रिनफिन तीन सय एम्पुल बरामद गरेको छ । कार्कीबाट डाइजेपाम ६५, बुप्रिनफिन ६५ र फेरगन ६५ एम्पुल बरामद गरेको छ ।
ब्युरोका अनुसार दुवैजनाको भेट केन्द्रीय कारागार सुन्धारामा भएको थियो । जेलबाट छुटेलगत्तै लागुऔषध कारोबार गर्ने योजना उनीहरूले त्यहीँ बनाएका थिए । बैंक अफ काठमान्डु लुटपाट घटनामा दोषी ठहर भएपछि शाही केन्द्रीय कारागारमा जेल सजाय भुक्तान गरिरहेका थिए भने कार्की भगौडा अभियोगमा सोही कारागारमा जेलजीवन व्यतीत गर्दै थिए ।
‘केन्द्रीय कारागारमा भेट भएपछि शाही र कार्कीबीच लागुऔषध करोबार गर्ने सहमति भयो । जेलबाट छुटेलगत्तै उनीहरू यस धन्दामा लागेको देखिन्छ,’ ब्युरोका एसएसपी विश्वराज पोखरेलले भने ।
शाही सशस्त्र प्रहरी बलको बलम्बुस्थित नीलवाराही गणमा कार्यरत थिए । बैंक अफ काठमान्डु लुटपाट अभियोगमा उनी ०६४ मा पक्राउ परेका थिए । अदालतले उनलाई ७ वर्ष कैद सजाय र ३ करोड रुपैयाँ जरिवाना तोकेको थियो ।
कैद सजाय भुक्तान भए पनि जरिवानाबापतको रकम तिर्न नसकेपछि उनले उक्त रकमबराबरको जेल सजाय भुक्तान गरेका थिए । १० वर्ष कैद सजाय भुक्तान गरी उनी ०७४ मा मात्रै जेलमुक्त भएका थिए ।















प्रतिक्रिया