११ कार्तिक २०८३, बुधबार

प्रक्रिया मिचेर गाडी चढ्न थाले यी सांसदहरू

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १४ कात्तिक । सुदूरपश्चिम प्रदेश समितिका सभापति प्रक्रिया मिचेर भाडाका गाडी चढ्छन्। सार्वजनिक खरिद ऐनअन्तर्गत सार्वजनिक सूचना जारी गरी गाडी भाडामा लिनुपर्ने प्रावधान भए पनि प्रक्रिया पुर्‍याइएको छैन। प्रदेश सरकारले गाडी उपलब्ध नगराएको भन्दै चारवटा समितिका सभापतिले एउटा गाडीको दैनिक ४ हजार रुपैयाँ भाडा तिर्ने गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सुदूरपश्चिम प्रदेश सचिवालयमा प्रमुख प्रतिपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतक र चारवटा संसदीय समितिका सभापतिका लागि मात्रै मासिक ७ लाख रुपैयाँ गाडी भाडामा खर्च हुने गरेको छ। प्रदेशसभाले एक महिनाअघि सुदूरपश्चिम प्रदेशमा अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर ९गोविन्द०, सामाजिक विकास समितिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिमा कुमारी नन्दा बमलाई निर्वाचिन गरेको थियो।

सामाजिक विकास समिति सभापति जोशीले सचिवालयको सहमतिमा गाडी भाडामा लिएको बताइन्। ‘सरकारले सुविधा दिनुपर्ने हो’, उनले भनिन्, ‘निजी गाडी भाडामा लिएकी छु तर गाडी भाडा कति पाउने भन्ने संसद् सचिवालयसँग भएको छैन।’ उनले वन वातावरण उद्योग तथा पर्यटन राज्यमन्त्री प्रकाशबहादुर रावलको स्कोरपियो गाडी भाडामा लिएकी हुन्।

अर्थ विकास तथा प्राकृतिक समितिका सभापति कुवँरले दैनिक प्रयोगका लागि गाडी भाडामा लिएको बताए। उनले भने, ‘सरकारले व्यवस्था नगरेकाले आफैंले गाडी भाडामा लिएँ।’ प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकले अघिल्लो आर्थिक वर्षबाटै गाडी सुविधा लिएका छन्। उनीहरू पनि गाडी भाडामा लिएर प्रयोग गर्छन्।

अघिल्लो आर्थिक वर्षमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रावल र सत्तापक्षका प्रमुख सचेतक तारालामा तामाङले असार १८ गतेसम्मको गाडी भाडा बुझिसकेका छन्। उनीहरूले एक लाख ९२ हजार रुपैयाँ गाडी भाडाबापत बाँडेर लिएको संसद् सचिवालयले जनाएको छ। गाडी सुविधा भएका पदाधिकारीलाई सचिवालयले मासिक सय लिटर इन्धन दिने गरेको छ।

संसद् सचिवालयले गाडी आवश्यक भए सार्वजनिक खरिद ऐनअनुसार सूचना प्रकाशन गरेर मात्रै लिन पाइने जनाएको छ। ‘हामीसँग गाडी भाडामा लिन रकम छैन। १० करोड रुपैयाँ गाडी भाडामा लिन प्रदेश सरकारसँग माग गरेका छौं’, संसद् सचिवालयका सचिव बालाराम शर्माले भने।