काठमाडौं, १३ कात्तिक । नक्कली लालपुर्जा बनाएर धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले भक्तपुरका राजु थापामगरलाई पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनले मालपोत कार्यालय चाबहिलका कर्मचारीलाई प्रभावमा पारी चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठस्थित ४० आना जग्गा बिक्री गरेका थिए । आफू नै जग्गा धनी बनेर उनले जग्गा बिक्री गरेको प्रहरीले जनाएको छ ।
मगर जग्गा कारोबारी भएको अनुसन्धानमा खुलेको छ । मगर र उनका सहयोगी भूपालसिंह तामाङलाई पक्राउ गरी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताए । सो प्रकरणमा यसअघि नै १४ जना पक्राउ परिसकेका छन् ।
मालपोत कार्यालय, चाबहिलका प्रमुख ९उपसचिव० कमलप्रसाद तिमल्सिनासहित नौ कर्मचारी प्रहरी हिरासतमै छन् । मालपोत अधिकृत खगेन्द्र अर्याल, नासुहरू जमुनाकुमारी श्रेष्ठ, रञ्जन खरेल, रघुनाथ तिमल्सिना, चन्द्रबहादुर श्रेष्ठ तथा कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महर्जन यसअघि नै पक्राउ परेका हुन् । सोही प्रकरणमा मालपोत कार्यालय कलंकीमा कार्यरत कार्यालय सहयोगी हरि खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कायस्थको करिब १० करोड रुपैयाँबराबरको बूढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा एक महिनाअघि उनलाई थाहा नै नदिई नक्कली कागजपत्रका आधारमा बिक्री भएको थियो । नक्कली जग्गा धनी खडा गरी कर्मचारीकै मिलेमतोमा जग्गा बिक्री भएको थियो । मालपोत कार्यालयमा रहने स्रेस्तामै उनको फोटो उप्काएर अर्का व्यक्तिको फोटो राखी त्यही आधारमा नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री भएको थियो ।
कायस्थको जग्गा श्रीकृष्ण देवकोटा, धु्रवप्रसाद भट्टराईको नाममा नामसारी भएको थियो । उनीहरू पनि हिरासतमै छन् । गिरोहका श्रीकृष्ण बडुवाल र सानुभाइ श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । नक्कली नागरिकता तथा लालपुर्जाका आधारमा जग्गाको राजीनामा पास गरिएको थियो । कायस्थले छिमेकीबाट सूचना पाएर मालपोत कार्यालयमा पुग्दा कर्मचारीहरूले मिल्न आग्रह गरेका थिए । प्रहरीले पक्राउ परेकाउपर संगठित अपराध र ठगी मुद्दा दायरको तयारी गरेको छ ।















प्रतिक्रिया