४ कार्तिक २०८३, बुधबार

सहकारीका सदस्यलाई उद्यमशिल बनाउन वित्तीय सहयोग सहकारी बैंकले गर्छ : उप्रेती

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, १२ कार्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय हेटौडाको आयोजनामा सदस्य सहकारी संघ संस्थाहरुसँगको एक दिने अन्तरक्रिया भएको छ । सहकारी बैंकका सेवा सुविधालाई थप प्रभावकारी बनाउन तथा सदस्य सहकारी संघ संस्थाहरुबीचको सम्बन्धलाई थप सहज बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको शाखाले जनाएको छ ।

कार्यक्रममा बैैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारी क्षेत्रलाई राज्यले लिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि उत्पादन क्षेत्रलाई प्रभावकारी बनाउन सहकारी क्षेत्रको भूमिका बढाउन पर्नेमा जोड दिए ।

स्वरोजगार बनाउन सहकारी संघ संस्थाहरुलाई आफ्ना सदस्यहरुलाई उद्यमशिल बनाई आयआर्जन वृद्धि गर्ने खालका कार्यक्रम तय गर्न आग्रह गर्दै उनले त्यसका लागि आवश्यक वित्तीय व्यवस्था सहकारी बैंकले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले सहकारीहरुमा रहेको तरलता सबै राष्ट्रिय सहकारी बैंकमा राख्न र आवश्यक रहेको पूँजि सहकारी बैंकबाट लिएर सदस्यहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका सञ्चालक बद्रीप्रसाद लम्सालले सहकारी क्षेत्रलाई वित्तीय रुपमा सक्षम बनाउनका लागि सहकारी बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन सहकारी संघ संस्था र बैंकबीच समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी., सहकारी बैंक हेटौडा शाखा समन्वय उपसमितिका सल्लाहकार विरेन्द्र ढुंगाना, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष राधा सिङ्तान, जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी लगायतले सहकारी क्षेत्रमा रहेको पूँजिलाई परिचालन गरी सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाई र सहायक महाप्रवन्धक हरिकृष्ण सापकोटा, हेटौडा शाखाका प्रमुख रामेश्वर अर्यालले बैंकको वित्तीय अवस्था, आगामी कार्ययोजना र सदस्य संघ संस्थाहरुका लागि आवश्यक प्रविधि, शिक्षा तथा तालिम र वित्तीय व्यवस्थापनका बारेमा सहजीकरण गरेका थिए ।