काठमाडौं, ११ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना गर्यो ।
काठमाडौंको भुकुटीमण्डस्थित बगैँचामा राखिएको चियापान स्थल साँघुरो भएकाले अस्तव्यस्त देखिएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
उक्त स्थानमा प्रवेश गर्नका लागि कार्यकर्ताहरुले घण्टौँ लाइन बस्नुपरेको थियो । लामो समय लाइन बस्नुपरेकाले केही कार्यकर्ताहरू बीचबाटै बाहिरिएका थिए । केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।
कार्यक्रमस्थलमा शौचालयको राम्रो व्यवस्था नभएकाले नेता तथा कार्यकर्ताहरू खुल्ला क्षेत्रमा शौच गर्न बाध्य भएका थिए । ५० हजारलाई निमन्त्रणा दिइएको भनिए पनि चियापानमा २५ हजार जति मात्र उपस्थित भएको आयोजकको भनाइ छ ।
पार्टी एकीकरण व्यवस्थित नभए जस्तै कार्यक्रमस्थलको व्यवस्थापन पनि सशक्त देखिएको थिएन । पार्टी एकीकरण भएपछि पहिलोपटक आयोजित चियापानमा नेता तथा कार्यकर्ताको संस्कार समेत परिवर्तन भएको देखियो ।
विगतमा लालसलाम भन्दै प्रस्तुत हुनेहरूलाई यसपालि नमस्कार भन्न भ्याइनभ्याई थियो । शीर्ष नेताहरूले विगतमा झैँ नेता तथा कार्यकर्तासँग हात मिलाएको देखिएन ।















प्रतिक्रिया