जनकपुरधाम, ११ कात्तिक । प्रेममा परेर दोस्रो विवाह गरेकी एक महिलाको श्रीमानबाटै हत्या भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीकी २५ वर्षीया रुबी शर्मा ठाकुरको हत्या भएको हो । हत्या गर्ने श्रीमान संजय यादव फरार छन् ।
पारिवारिक विवादका कारण कुटपिट गरेर संजयले श्रीमती रुबीको हत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिए ।
उनका अनुसार संजयले शुक्रबार साँझ निर्घात कुटपिट गरी बेहोस बनाएका थिए । पछि चिकित्सक बोलाएर उपचार गराउन खोजे । उपचार गर्दागर्दै रुवीको मृत्यु भयो ।
रुबीको शरीरमा चोट लागेको नदेखिएको प्रहरी निरीक्षक कुशवाहाले बताए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र कसरी हत्या गरेको विषय खुल्ने जनाए ।
स्थानीयले भने छातीमा ढुंगा प्रहार गरेर रुबीको हत्या गरेको बताएका छन् । अत्याधिक मदिरा सेवन गर्ने संजय शुक्रबार साँझ पनि मदिरामा मातेको थिए । रुबीले प्रेममा परी भागेर ५ वर्षअघि संजयसँग बिहे गरेकी थिइन् ।
रुबीले केहिदिन अगाडि सुनको गहना बेचेकी थिइन् । सुन बेचेको कुरा श्रीमान संजयले थाहा पाएपछि रुपियाँ माग्न थालेका थिए ।
रुबीले रुपियाँ दिन मानिन् । सोही कारण विगत तीन दिन अगाडिदेखि रुबीलाई यातना दिँदै आएको थियो । शुक्रबार साँझ पनि रुपैयाँ मागेको र नदिएको झोकमा कुटपिट गरी रुबीको हत्या गरेको उनका भाइ विनोद शर्माले जानकारी दिए ।
धनुषाकै मिथिला बिहारी नगरपालिका ७ का रामप्रगास शर्माकी छोरी रुबीको ६ वर्षअघि समाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुरसँग भएको थियो ।
बिहेको एकवर्ष नबित्दै संजय ठाकुरलाई छाडेर भागिन् र लक्ष्मीनियाका संजयसँग प्रेम विवाह गरेकी थिइन् । रुबीले पहिलेको श्रीमान छाडेदेखि माइतसँग पनि सम्बन्ध बिग्रेको थियो ।















प्रतिक्रिया