४ कार्तिक २०८३, बुधबार

आइसिसी विश्वकपको ट्रफी पोखरामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० कार्तिक । इङ्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शनिबार बिहान पोखरा पुर्‍याइएको छ ।

ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल पोखरा पुगेको हो । पोखरामा राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानले माछापुच्छ्रे हिमालको पृष्ठभूमीमा ट्रफी सार्वजनिक गरे ।

ट्रफी नेपालमा सोमबारसम्म रहनेछ । ट्रफी शनिबार नै पोखराबाट फर्काइने आइसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले बताइन् । यसअघि शुक्रबार नेपाल आइपुगेको ट्रफी साँझ स्वयम्भुमा प्रदर्शनीका लागि राखिएको थियो । यसपछि ट्रफीलाई चन्द्रागिरि हुँदै वसन्तपुर पुर्‍याउने कार्यक्रम छ।

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याइएको घिमिरेले बताइन् ।

विश्वकपको ट्रफी निशान कम्पनीको सहयोगमा विश्वभर प्रदर्शन गरिएको हो । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो ।

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।