४ कार्तिक २०८३, बुधबार

डिएसपी श्रेष्ठको हिरासतमा तीन महिनादेखि युवालाई चरम यातना, मिर्गौलामा समस्या !

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १० कात्तिक । तीन महिनादेखि इलाका प्रहरी कार्यालय इटहरी हिरासतमा राखिएका तिर्थ थापाको प्रहरी यातनाका कारण मिर्गौलामा समस्या देखिएको छ ।

अझै पनि प्रहरी हिरासतमा नै रहेका थापालाई प्रहरीले अनावश्यक दुख दिँदै यातना दिएको पीडित परिवारले जनाएको छ । ‘पक्राउ गरेको लामो समय भयो छाडिएको छैन, उसको मिर्गौलामा समस्या हुनेगरी यातना दिएको पाएका छौं’, परिवारका सदस्य भन्छन्,‘उसलाई अनेक मुद्दा लगाएर हिरासतमुक्त समेत हुन दिइएको छैन ।’

इटहरी–५ का १८ बर्षिय थापालाई गएको २४ साउनमा चोरी आरोपमा पक्राउ गरिएको थियो । तर, उनलाई लागु औषधको मुद्दा लगाइएको छ ।

थापाको मिर्गौलामा समस्या देखिएको स्वीकार गरेका इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले थापाको मुत्रनलिमा पहिलादेखि नै समस्या रहेकाले अस्पतालमा जाँच गराइएको बताए । उनले प्रहरी यातनाका कारण मिर्गौलामा समस्या आएको भन्ने विषयमा सत्यता नभएको दाबी गरेका छन् ।

तर, चोरी अभियोगमा पक्राउ गरेको व्यक्तिलाई तीन महिनासम्म किन हिरासतमा राखेको ? भन्ने दैनिक नेपालको प्रश्नमा उनले भने,‘लागु औषध कारोबारको मुद्दामा उनलाई अनुसन्धान जारी राखेका छौं ।’

अनुसन्धानका क्रममा प्रहरीले दिएको यातनाका कारण थापा बारम्बार विरामी भएपछि उनलाई एपेक्स अस्पताल र नोबेल मेडिकल कलेजमा जाँच गराइएको थियो ।

उनले थापा विभिन्न अभियोगमा तीन पटक पक्राउ भइसकेका व्यक्ति रहेको पनि दाबी गरेका छन् ।

तपाईको यातनाका कारण मिर्गौलामा समस्या आएको परिवार र आफन्तको दाबी छ नि ? उनले भने,‘यस्तो केही पनि भएको छैन, ऊ पहिलादेखि नै स्वास्थ्यमा समस्या भएको केटो रहेछ ।’

यता, डिएसपी श्रेष्ठले इटहरी क्षेत्रमा विभिन्न व्यक्तिलाई अनावश्यक र झुठा मुद्दामा फँसाउने गरेको आरोप समेत लाग्न थालेको छ । गएको महिना इटहरीमा कार्यरत एक जोडी मजदुरलाई पक्राउ गरेका उनले युवकलाई बलात्कार मुद्दा लगाएको आरोप समेत लागेको छ । उनकै दबाबमा ति युवतीका नाममा बलात्कारको उजुरी बनाइएको युवकका आफन्तले बताएका छन् ।