
काठमाडौं, ९ कात्तिक । पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी शुरुवात गरेको छ । विराटनगर टाईटन्सलाई ५८ रनले पराजित गर्दै घरेलु टोली पोखराले उद्घाटन खेलमै जित निकालेको हो ।
पोखरा रंगशालामा पोखराले दिएको १९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोडन सक्यो ।
विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले ३०/३० रन जोडे । यस्तै एन्ड्रयु शुबिकशनले १४ रन जोड्दा कप्तान सन्दीप लामिछानेले पनि अविजित १४ रन जोडे ।पोखराका ललित राजवंशीले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभरमा ३ विकेट गुमाएर १९७ रन जोडेको थियो । निकै आक्रामक ब्याटिङ गरेको पोखराका लागि आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५२ बलमा ५ चौका र १ छक्कासहित ५२ रन जोडे ।
प्रतियोगिता अन्तर्गत शनिबार चितवन राइनोज र बुटवल ब्लास्टर तथा काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् ।















प्रतिक्रिया