घोराही, ८ कात्तिक । जिल्लाको शान्ति सुरक्षा बनाइ राख्न दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले गुण्डाहरूको सूची तयार पारेका छन् ।
दाङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि एसपी शर्माले केही गुण्डा नाइकेहरूलाई बोलाएर गतल गतिविधि नगर्न चेतावनी दिइसकेका छन् । शर्माले दाङ कहलिएका गुण्डा नाइकेहरू विकास पुन, पदम चन्द र वावु पुनलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुनै पनि कानून विपरितका हर्कत नगर्न चेतावनी दिएका हुन् ।
‘म आउनुभन्दा अगाडि जे भयो मलाई थाहा भएन । अबका दिनमा कथित गुण्डा नाइकेहरूबाट कुनै पनि प्रकारको गतिविधि भयो भने छाड्ने छैन’, दैनिक नेपाल डटकमसँग कुरा गर्दै दाङका प्रहरी प्रमुख एसपी शर्माले भने, ‘विकास पुन, वावु पुन र पदम चन्दलाई बोलाएर कानून विपरितका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छु । अरुको पनि सूची तयार पार्न लगाएको छु । एक पटकलाई सुध्रिने मौका दिन्छु । सुधार भएन भने कानूनअुसार हुनेछ ।’ अरुलाई पनि क्रमशः बोलाएर सम्झाउने एसपी शर्माले बताए ।
दाङ जिल्लामा सिमेन्ट उद्योगहरू खुलेपछि कथित गुण्डा नाइकेहरूले अवैध असुली गर्ने, आफ्नो लगानी रहेका ट्रिपरलाई मात्रै काम दिन दवाव दिने, हप्ता असुली गर्ने, घर जग्गा कारोबारीसँग रकम असुल्ने, मिटर व्याजमा पैसा लगाउने आदि जस्ता गतिविधि हुने गरेको छ । यी सबै कुराको जानकारी आफूलाई रहेको एसपी शर्माले बताए ।
केही गुण्डा नाइकेहरू सत्तारु दल निकट रहेका छन् । उनीहरूका गतिविधि बढ्न थालेको प्रहरी स्रोतको भनाइ छ ।
जिल्लाको शान्ति सुरक्षा बनाउने विषयमा सत्तारुढ दलका साथै विपक्षी दल नेपाली कांग्रेसबाट अहिलेसम्म सहयोग रहेको बताएका एसपी शर्माले साथ दिएको बताए । गुन्डाहरूका विषयमा अहिलेसम्म कतैबाट कुनै पनि प्रकारको दवाव नआएको शर्माले बताए ।
१.शोक मगर ‘शोके’
निर्माण व्यवसायी महासंघ दाङको महासचिव रहेका शोकले कुनै बेला राप्ती बस व्यवसायी समितिमा जागिर खान्थे । पछि उनले यति धेरै सम्पत्ति कमाइ गरेकी उनको सम्पत्तिमा प्रहरी प्रशासनले निगरानी शुरु गरेको छ । एक महिना अगाडि मात्रै चार वटा नयाँ ट्रिपर खरिद गरेका छन् । ती ट्रिपरहरू धम्की दिएर सिमेन्ट उद्योगहरूमा काम गर्न लगाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका शोकेले ठेक्कापट्टा गर्दै आएका छन् । सत्तारुढ दलको आडमा उनले कानून विपरितका गतिविधि गर्ने गरेको प्रहरीमा रेकर्ड छ । तर, प्रहरीले शोकेलाई छुन सकेको छैन । शोकेलाई कुनै पनि बेला सम्पत्ति शुद्धीकरण विभागले छानविन गर्न सक्ने स्रोतको भनाइ छ ।
२.विकास पुन
कुनै बेला नेपाली कांग्रेस निकट रहेका विकास पुन तत्कालीन नेकपा (एमाले) प्रवेश गरेका थिए । कुटपिट गर्ने, मिटर व्याज लगाउने, धम्की, जवरजस्ती असुली, घरजग्गा कारोबारीसँग असुली गर्ने, ठेकेदार असुली गर्ने आदि गतिविधि गर्ने गरेको प्रहरीसँग रेकर्ड छ । वावु पनुविरुद्ध प्रहरी रेकर्डमा थुप्रै अपराधका घटनाहरू दर्ता भएका छन् ।
३. वावु पुन
गुण्डागर्दी गर्ने, अवैध असुली गर्ने, कांग्रेसको नाम लिएर व्यक्ति धम्काउने लगायतका क्रियाकलाप गरेका आरोप वावु पनुलाई प्रहरीले लगाएको छ । वावु पुनले विभिन्न व्यक्तिलाई सांघातिक आक्रमण समेत गरेको प्रहरी रेकर्डामा उल्लेख छ ।
त्यसैगरी, पदम चन्द, किरण केसी, माइकल विश्वकर्मा, विशालजंग शाह, अरुण श्रेष्ठ, श्याम पुन, देउखुरी लमहीको बनगाईँ समूह, वीरेन्द्र चौधरी, भालुवाङको लाहुरे समूह आदिको सूची दाङ प्रहरीले बनाएको छ ।
दाङ प्रहरी प्रमुख एसपी शर्माले टोले गुण्डाहरूको पनि लामै सूची रहेको बताए । गलत कार्य गर्ने टोले गुण्डाहरू पछिल्लो समय चुप लागेर बसेको उनको भनाइ छ । गलत कार्य गर्ने टोले गुण्डाहरूलाई कुनै पनि बेला पक्राउ गरेर कारबाही गरिने उनले बताए ।















प्रतिक्रिया